जनता टाइम्स

१६ पुष २०८१, मंगलवार १४:४५

नुवाकोटको शेरा दरबार कब्जामा माओवादी अध्यक्ष प्रचण्डकै संलग्नता भेटियो, यस्तो छ तथ्य प्रमाण


नुवाकोट, पुस १६ ।  नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले गर्मी छल्न भनेर बनाएको नुवाकोटको ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा नेकपा माओवादीले हडपेको तथ्यले उजागर भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सत्ताको चरम दूरुपयोग गरी सो जग्गा माओवादीले हडपेको पाइएको हो ।

अहिलेसम्म प्राप्त तथ्यहरुले प्रचण्ड नेतृत्वको सरकारकै योजनामा शेरा दरवारको १ सय ८४ रोपनी हदबन्दीभन्दा बढी भएपछि कम्पनीको नाममा लगेर बेच्ने धन्दा चलाइएको पाइएको हो । सोही योजनाअनुसार कृषि प्रयोजनका लागि कम्पनी खडा गरेर व्यक्तिको नामबाट कम्पनीमा लगिएको तथ्य फेला परेको छ । नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य विकेश श्रेष्ठ र उहाँका छोरा मनोबल श्रेष्ठका नाममा कम्पनी खडा गरी सो जग्गा हडपिएको तथ्यले देखाएको छ ।

बिसं २०७३ सालमा अन्नपूर्ण फार्मिङको सेयर सदस्यको रूपमा प्रवेश गरी विकेश श्रेष्ठले अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर केही जग्गाको बैनासमेत लिएपछि माओवादी नेतृत्वकै संलग्नता र योजनामा सरकारी सम्पत्ति हडपेको तथ्य उजागर भएको हो । श्रेष्ठले फार्मिङको नाममा जग्गा लगे पनि प्रयोजनविहीन बनाएर राखिएको थियो । १८४ मध्ये १६१ रोपनी जग्गा अन्नपूर्ण फार्मिङको नाममा रहेको छ ।

माओवादीका केन्द्रीय सदस्यसमेत भइसकेकाले त्यो जग्गालाई पहुँचका आधारमा पलटिङ सुरु गरिएको हो । जग्गा प्लटिङ गरेको विषयले भूमिसुधार मन्त्रालय नुवाकोटस्थित मालपोत कार्यालय झस्किएको छ । मालपोतले जग्गा प्लटिङ गरेको विषयमा माथिल्लो निकायलाई उजुरी गरिसकेको छ । सरकारले यसअघि त्यो जग्गा छानबिनको तयारी गरेको भए पनि प्रचण्ड प्रधानमन्त्री भएको बेला रोकिएको थियो ।

सो जग्गा प्लटिङ गर्ने र हडप्न खोज्ने व्यक्ति विकेश श्रेष्ठ दाहालको सचिवालयको पूर्वसदस्य समेत हुनुहुन्छ । श्रेष्ठले नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि दाहालको प्रमुख स्वकीय सचिव भएर काम गरिसक्नु भएको थियो । श्रेष्ठको योजनालाई मुर्त रुप दिई सरकारी सम्पत्ति हडप्न र उहाँलाई जोगाउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सो जग्गाको अनुसन्धान रोकेको मालपोल अधिकारीहरुले खुलासा गरेका छन ।

त्यसमा प्रचण्डका आफन्त रमन पाठक पनि जोडिनुभएको छ । सोही कारण पनि उहाँकै प्रत्यक्ष संलग्नता रहेको र सो जग्गाको अनुसन्धान रोकिएको र अहिलेको सरकारले यसलाई अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतले बताएको छ । सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र शेरा दरबारले चर्चेको कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४–१३–०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखले देखाएको छ ।

सो जग्गा भूमिसुधार ऐनपछि हदबन्दीको कारण शेरा दरबार र शेरा दरबारले चर्चेका जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी श्रीमती हेलन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिको नाममा हदबन्दीको कारण नापी हुन नसकेर गौरीशंकर फार्मिङको नाममा नापी गराइएको थियो । सो दरबारको जग्गा गौरीशंकर फार्मिङको नाममा नापी भए पनि फार्मिङको सञ्चालक र सेयर धनी हेलन शाह र विजया राज्यलक्ष्मी शाह नै हुनुहुन्थ्यो । गौरीशंकर फार्मिङ नामको संस्था मिति २०२७ फागुन २८ गते स्थापित भएकामा सो संस्था मिति २०३६ असार १ को निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको थियो ।

मातपोतको अभिलेखअनुसार बिसं २०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरियो । त्यसपछि २०५२ सालसम्ममा विजया राज्यलक्ष्मी शाहको नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहको नाममा गयो । बिसं २०५२ मा हेलेन शाह र जयन्ती शाहको नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ चार जनाको नाममा हस्तान्तरण भयो । त्यसपछि २०७३ असार ३ सेयर दाखिला खारेजको निर्णयले विकेश श्रेष्ठको पाँच लाख ६७ हजार पाँच सय सेयर कित्ता पाँच करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिएको छ।

त्यसैगरी अजयकुमार सूर्यवंशी नाममा अर्को सेयर रहेको छ । मालपोतको अभिलेखअनुसार चार लाख ६० हजार ४१० सेयर कित्ताको चार करोड ६० लाख ४१ हजार किनबेच भएको देखिन्छ । त्यसैगरी नुवाकोट बिदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठको ४५ हजार कित्ता सेयरको ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि नै अन्नपूर्ण फार्मिङमा श्रेष्ठको प्रवेश गर्नुभएको हो । श्रेष्ठले सुरुमा ५ करोड ६७ लाख ५० हजार रुपैयाँ लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेखले देखाएको छ । प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०७३ सालमा श्रेष्ठ प्रवेश गरेपछि नै शेर दरवारको जग्गामा अस्थायी र स्थायी संरचना तयार भएको थियो । शेरा दरवारको जग्गामा प्रचण्ड पत्नीका लागि घरसमेत बनाइएको थियो । २०७४ सालसम्म उहाँ त्यहाँ आउनेजाने गर्नुहुन्थ्यो ।

यस्तै काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकको ४५ हजार कित्ताको ४५ लाख रूपैयाँसमेत गरी चार जनाको नाममा ११ करोड, १७ लाख, ९१ हजार सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ । बिसं २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत रही विकेश श्रेष्ठको छोरो मनोबल श्रेष्ठको ९० लाख कित्ताका लागि नयाँ सेयरधनी ल्याइएको छ । हाल सेयरधनी बाबुछोरा श्रैष्ठद्वयसहित ३ जना मात्रै छन ।

नुवाकोटको विदुर नगरपालिका–२ मा रहेको सो जग्गा नेपाल ट्रस्टको नाममा आउनुपर्नेमा यसरी भू–माफियाको कब्जामा परेको देखिएको छ । अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर बेच्न लागेको अवस्थामा मात्रै जग्गा हडपेको तथ्य खुल्न गई सरकारले नेपाल ट्रस्ट जग्गा भएको जनाउँदै अनुसन्धान अघि बढाएको छ । बृहत शान्तिसम्झौता २०६३ ले राजपरिवार र राजदरबारको सम्पत्ति नेपाल ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय भएपछि यो जग्गा पनि नेपाल ट्रस्टको नाममा आउनुपर्नेमा अहिलेसम्म माओवादी नेतृत्वकै योजना र राजनीतिक पहुँचको आधारमा प्लटिङ गरिएको पाइएको छ ।

दाहालकै पालामा शेयर हस्तान्तरण

शेरा दरबारले चर्चेको एक सय ८४ रोपनी जग्गा प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा उहाँको स्वकीय सचिवालयमा कार्यरत विकेश श्रेष्ठका नाममा सेयर हस्तान्तरण भएको देखिएको छ । तत्कालीन भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाको आदेशमा अन्नपूर्ण फार्मिङमा श्रेष्ठका नाममा सेयर हस्तान्तरणमा सहमति दिइएको खुलेको छ ।

२०७३ साउन ९ गते माओवादी अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँ प्रधानमन्त्री भएका बेला भूमिसुधार मन्त्रालयमा माओवादी निकट मोहनकृष्ण सापकोटालाई सचिव ल्याएरु सो काम गरिएको पाइएको छ । सापकोटा २०७२ मंसिर २१ मा भूमिसुधार सचिव हुनुभएको थियो ।

प्रचण्ड प्रधानमन्त्री भएपछि नै अन्नपूर्ण फार्मिङमा श्रेष्ठको प्रवेश गर्नुभएको हो । श्रेष्ठले सुरुमा ५ करोड ६७ लाख ५० हजार रुपैयाँ लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेखले देखाएको छ । प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०७३ सालमा श्रेष्ठ प्रवेश गरेपछि नै शेर दरवारको जग्गामा अस्थायी र स्थायी संरचना तयार भएको थियो । शेरा दरवारको जग्गामा प्रचण्ड पत्नीका लागि घरसमेत बनाइएको थियो । २०७४ सालसम्म उहाँ त्यहाँ आउनेजाने गर्नुहुन्थ्यो ।