काठमाडौं, ४ माघ । दयाहाङ राई, नेपाली फिल्म उद्योगका एक प्रमुख अभिनेता, जसले आफ्नो अभिनयकला र प्रस्तुतिको गहिराइबाट नेपाली सिनेमा प्रेमीहरूको मन जित्नुभएको छ।
आलोचकहरूले बारम्बार उहाँमाथि एउटै शैली र लवजमा सीमित रहेको आरोप लगाउँछन्, तर यी आरोप केवल सतही छन् । दयाहाङको अभिनयले पात्रहरूलाई केवल संवाद र शारीरिक हाउभाउको माध्यमबाट होइन, तिनको भावनात्मक र सांस्कृतिक यात्रा समेट्दै जीवन्त बनाउँछ। उहाँ पात्रको हाँसो, आँसु, र सपना बन्न सक्छन्—र यही विशेषता नै उहाँलाई अरू कलाकारभन्दा अलग राख्छ।
हुन त उहाँ राई हुन, तर राई, लिम्बु, तामाङ, गुरुङ सबै कल्चरमा मन छुने जिबन्त अभिनय गर्नुभएको छ । नेपाली फिल्म र दयाहाङ पर्चाबाची भएको छ।
दयाहाङले आफ्नो अभिनय यात्राको थालनी थिएटरबाट गर्नुभएको हो । रंगमञ्चको अनुभवले उहाँको अभिनयमा गहिरो प्रभाव पारेको छ, जसको झल्को उहाँका फिल्मीय भूमिकाहरूमा पनि देखिन्छ। थिएटरको आधारभूत कलाले उहाँभित्र पात्रको मनोदशालाई पर्दामा सजीव बनाउने क्षमता विकास गर्यो। यसैले दयाहाङको अभिनयलाई केवल दृश्यात्मक मनोरञ्जनको रूपमा हेर्नु गलत हुनेछ। उहाँका अभिनय हरेक पटक पात्रको मनोविज्ञानको सूक्ष्म अध्ययन हो।
‘कबड्डी’ फिल्ममा उहाँले थकाली समुदायको पात्रलाई सहजता र हाँस्य रससँगै प्रस्तुत गर्नुभयो । लिम्बू संस्कृतिमा आधारित पात्रले प्रेम र विडम्बनाको कथा भोग्दा, दयाहाङले त्यसलाई अत्यन्तै यथार्थपूर्ण बनाउनुभएको छ । यस पात्रको सादगी र भावुकता दयाहाङको अभिनयको गहिराइलाई दर्शाउँछ। यो फिल्मले उहाँलाई नेपाली सिनेमा क्षेत्रमा हास्य शैलीका पात्रको प्रतिनिधि बनायो, तर उहाँ यस भूमिकामा मात्र सीमित रहनु भएन ।
‘कार्साङ’ मा उहाँले हिमाली शेर्पा पात्रको जीवनलाई पर्दामा जिवन्त बनाउनुभयो । हिमाली भूगोलको कठोरता र त्यहाँको जीवनका चुनौतीहरूको कथामा, उहाँले पात्रको संघर्ष र साहसलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गर्नुभयो । हिमालको जोखिमपूर्ण यात्रामा बाँच्ने र आफ्नो सपना पछ्याउने पात्रको भावना, आँखाको भाव र गहिरो मौनतामा व्यक्त हुँदा, दर्शक दयाहाङको प्रतिभा अनुभूत गर्छन्।
यसैगरी, ‘निरफूल’ मा उहाँले महाभूकम्पको कारण आफ्नो परिवार गुमाएको तामाङ समुदायको दुःखलाई आत्मीयता र संवेदनशीलतासँग प्रस्तुत गर्नुभयो । फिल्मले तामाङ परिवारको पुनर्निर्माणको कथा भन्छ, जहाँ दयाहाङको अभिनयले पीडाको गहिराइलाई यथार्थपरक ढंगले उजागर गर्यो। उहाँका हाउभाउ र मौन क्षणहरूले दुःखलाई केवल दृश्यमा होइन, पात्रको आत्मामा देखाउँछन्।
दयाहाङ राईका पात्रहरूले नेपाली समाजको विविधता झल्काउँछन्। चाहे ‘लुट’ मा सामूहिक विद्रोहको पात्र होस्, चाहे ‘टलकजंग भर्सेस टुल्के’ मा राजनीतिक अन्यायको शिकार पात्र, वा ‘दुई नम्बरी’ को रमाइलो पात्र—दयाहाङले प्रत्येक भूमिका फरक दृष्टिकोण र शैलीमा बाँच्नुभएको छ । उहाँ केवल मनोरञ्जनका लागि अभिनय गर्नुहुन्न उहाँ जीवनको कथा प्रस्तुत गर्नुहुन्छ ।
उहाँका आलोचकहरू भन्छन्, दयाहाङ बारम्बार एउटै प्रकारको संवाद शैली प्रयोग गर्छन्। तर अभिनय भनेको संवादको मात्र साधन होइन, संवेदनाको अभिव्यक्ति हो। दयाहाङको अभिनयले समाजको वास्तविकताका कथालाई पर्दामा प्रस्तुत गर्दा, उहाँले हरेक पटक फरक व्यक्तित्व र गहिराइलाई प्रस्तुत गर्नुभएको छ ।
यसैले, नो ह्याङ दयाहाङ—उनले अभिनयलाई जीवनको कथा बनाएका छन्। नेपाली सिनेमा उद्योगको यो यात्रा उनीसँग अझै टाढासम्म जान बाँकी रहेको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्