जनता टाइम्स

१६ चैत्र २०८१, शनिबार १८:०७

ज्ञानेन्द्रलाई तोकिएको जरिवाना पत्र लिएर भोलि निर्मल निवास जाँदै महानगर


काठमाडौं, १६ चैत्र । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र भोलि (आइतबार) निर्मल निवासमै लगेर बुझाउने भएको छ ।काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार, भोलि कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्‍याएर जरिवानाका पत्रहरू बुझाइनेछ ।
आज शनिबार हो । भोलि (आइतबार) कार्यालय समय खुलेपछि हामी निर्मल निवासमै पुगेर उक्त पत्रहरू बुझाउनेछौं,’ पाण्डेले भन्नुभयो ।महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै महानगरले जरिवाना तोकेको हो । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।