सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुलको काम निर्माण कम्पनीले रोकेपछि ठेक्का रद्द गर्ने तयारी हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले गरेको छ।
निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असारसम्म भासिएको पुलको पुनर्निर्माण सक्ने गरी अन्तिम ठेक्का सम्झौता भएको थियो। तर, एक महिनादेखि कम्पनीले काम रोकेपछि ठेक्का रद्द गरी कारबाही अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए।
‘सम्झौताअनुसार असारसम्म काम सक्नुपर्ने हो। तर, एक महिनादेखि निर्माण कम्पनीले काम रोकेको छ। म्याद थपको निवेदन पनि दिएको छैन,’ उनले भने, ‘सम्झौताअनुसार काम नभएपछि कारबाहीका लागि केन्द्रमा सिफारिस गरेका छौँ।’
यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनमा पुगेको थियो। पुल निर्माणका क्रममा दुई पाएर भासिएपछि निर्माण कम्पनीले बिमाबापतको रकम दाबी गरेको थियो। यो मुद्दा अदालतमा विचाराधीन छ। निर्देशनालयले ठेक्का र कारबाही प्रक्रियाबारे कानुनी परामर्श गरिरहेको प्रमुख महतोले बताए।
पुल निर्माणको अन्तिम चरणमा बाढीले क्षति पुगेपछि कम्पनीले बिमाबापतको आठ करोड रकम नपाएकोले अदालत जानुपरेको ‘लुम्बिनी बिल्डर्स’ का साइट इन्चार्ज सुदीप थापाले बताए। ‘उक्त रकम नपाउँदा आर्थिक अभावले बाँकी काम रोक्नुपरेको छ,’ उनले भने।
२०६८ मा तीन वर्षभित्र पुल सक्ने सम्झौता भएको थियो। तर, पटकपटक म्याद थप्दा १३ वर्ष बितिसक्दा पनि पुल अधुरो छ। ‘पप्पु कन्स्ट्रक्सन’ ले पुल अलपत्र पारेपछि कालोसूचीमा परेको थियो। त्यसपछि ‘लुम्बिनी बिल्डर्स’ ले काम गर्दै आएको थियो। अन्तिम म्याद ०८२ असारसम्म थपिएको भए पनि त्यो पनि गुज्रिसकेको छ।
स्थानीयले कमलामा काठेपुल बनाएर आवतजावत गरिरहेका छन्। तर, वर्षायाममा पुल बगाउँदा सास्ती भोग्नुपरेको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यावदले बताए। उनका अनुसार सिरहा र सप्तरीका बासिन्दालाई जनकपुर आउजाउ गर्न भारतीय बजार जयनगर वा जोखिमपूर्ण डुङ्गाको यात्रा गर्नुपर्छ। नभए मिर्चैया, ढल्केवर हुँदै तीन घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्छ।
तराई मधेसको ‘लाइफलाइन’ मानिएको हुलाकी सडक मधेस प्रदेशको राजधानी जनकपुरसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो। उद्घाटनको तयारीमा रहेको अवस्थामा कमला नदीको बाढीले भासिएको यो पुलको पुनर्निर्माणमा ढिलाइ भएको छ। पुल बन्ने नबन्ने अनिश्चित भएको छ।
प्रतिक्रिया दिनुहोस्