जनता टाइम्स

२५ बैशाख २०८२, बिहीबार ०९:२६

लागुऔषधसहित दुई युवक पक्राउ


सिरहा, २५ वैशाख । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका–१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

वैशाख २४ गते बिहान करिब ४ः३० बजे भारतबाट लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ओनेरेक्स–१०० एमएल लेखिएको ४४३ बोतल लागुऔषध बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागुऔषध राखिएको दुईवटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ ।

त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१–००४ प ५९८५ र स ३ प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी) समेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।