जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार १६:१५

मदन–आश्रित चढेको जिप दुर्घटना भएको दासढुंगामा मनाइयो उहाँहरूको स्मृति दिवस


काठमाडौं, ३ जेठ । नेकपा एमाले चितवनले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३२ औँ स्मृति दिवस कार्यक्रम दासढुंगामा मनाएको छ ।

मदन–आश्रित चढेको जिप रहस्यमय तरिकाले दुर्घटना भएको स्थल दासढुंगामा एमाले चितवनले श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रम नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा पार्टी संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जगन्नाथ थपलिया, वाग्मती प्रदेश कमिटी सदस्य कैलाशप्रसाद ढुङ्गेल, जीवराज आश्रितका छोरा डा सागर न्यौपाने लगायतले नेपालको काम्युनिष्ट आन्दोलनमा उहाँहरूको योगदानका बारे चर्चा गर्नुभएको थियो ।

मदन–आश्रित चढेको जिप २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय तरिकाले दुर्घटनामा परेको थियो । सोही दुर्घटनामा उहाँहरूको निधन भएको थियो ।

सो गाडिका चालक अमर लामाको पनि माओवादीले हत्या गरेपछि दासढुंगा घटना थप रहस्यमय भएको छ । सो घटनाको विभिन्न अध्ययन भएका भए पनि दुर्घटना कसरी भयो भन्ने पत्ता लाग्न सकेको छैन ।

मदन भण्डारी मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको कार्यक्रममा उहाँहरूका सालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भुत रहेको बताउनुभयो । उहाँहरूले देखाएको बाटोमा पार्टी अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले नेपालको राजनीतिमा जनताको बहुदलीय जनवाद परीक्षण भएको विचारका रूपमा स्थापित भएको बताउनुभयो ।  उहाँले जनताको बहुदलीय जनवाद राजनीतिमा सफल सिद्धान्त भएको स्पष्ट पार्नुभयो ।

जीवराज आश्रित एक कुशल संगठक भएको उहाँले बताउनुभयो । आश्रित कुशल संगठकका साथै आदर्श नेता भएका उहाँको धारणा छ ।

एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले जेठ ३ लाई नेपालको कम्युनिष्ट आन्दोलनमा अँध्यारो दिन भएको बताउनुभयो । २०५० जेठ ३ गते नेपालको कम्युनिष्ट आन्दोलनका नक्षत्र अस्ताएका उहाँको भनाई छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई जीवित बनाउन मदन भण्डारीले एउटा विचार दिनुभएको उहाँले बताउनुभयो । उहाँले देखाएको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा एमाले अघि बढिरहेको बताउनुभयो ।