जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार २१:४३

पार्टी भित्रको विवादकै बिच सुदूरपश्चिमका नवनियुक्त मन्त्री रामेश्वर चौधरीद्वारा शपथ ग्रहण 


काठमाडौं, ४ जेठ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको सिफारिसमा आइतबार दिउँसो चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त  हुनुभएको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमा नियुक्त गरेपछि चौधरीले साँझ प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

यस अघि नागरिक उन्मुक्ति पार्टीबाटै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहनुभएका लक्ष्मणकिशोर चौधरीले १६ चैतमा नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माणमा आर्थिक लेनदेन गरेको विवादित अडियो सार्वजनिक भएपछि उहाँले राजीनामा दिनुभएको थियो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्णय विपरीत प्रदेश संसदीय दलको सिफारिसमा संरक्षक रेशम चौधरी पक्षीय मानिने रामेश्वर मन्त्री बन्नुभएको हो । श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउने निर्णय गर्दै संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिनुभएको थियो ।

पार्टी अध्यक्ष श्रेष्ठले मन्त्री बनाउन सिफारिस गरेका प्रदेश सभा सदस्य कैलाश चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीले मनपरी गरेको भन्दै परिस्थितिअनुसार निर्णय लिइने बताउनुभएको छ ।