जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार १७:५३

प्रचण्डको स्वीकारोक्ति : हामी जितेर आएका होइनौँ, सम्झौता गरेर आएका हौँ 


काठमाडौं, ६ जेठ । अरू सबैलाई हरुवा आफू मात्रै जितेर आएको बताउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुममा पुगेर आफूहरू जितेर नभई सम्झौता गरेर आएको वास्तविकतालाई स्विकार्नु भएको छ ।

मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको रुकुमको चौरजहारीमा सशस्त्र द्वन्द्वका घाइते, अपाङ्ग, सहिद र बेपत्ता व्यक्तिका आफन्तसँग अन्तरक्रिया गर्दै दाहालले आफूहरू सम्झौताबाट आएकोले धेरै कुरामा सम्झौता गर्नुपरेको बताउनुभयो । ‘हामी क्रान्ति पूरा गरेर होइन, सम्झौताबाट आएको अवस्था हो, अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ, म समाजवादी क्रान्तिको यात्रामा कमी कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु’, उहाँले भन्नुभयो ।

चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी माओवादी  समर्थक द्वन्द्व पीडितले आफूहरूले भोगिरहेका समस्या र राज्यबाट पाउनुपर्ने सुविधाका विषयमा धारणा राख्नु भएको थियो । घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षा र रोजगारी विषयमा उनीहरूले ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको पीडा बुझ्न र पार्टीभित्रको समीक्षा गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो । सहिद घोषणामा केन्द्रबाट तलको आँकडा मागिएको भए पनि विवरण पठाउँदा केही त्रुटिका भएका कारण सबैलाई समेट्न नसकेको उहाँले बताउनुभयो ।

दाहालले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा ढिलाइ भएको भन्दै दुःख व्यक्त गर्नुभयो । हाल बनेको समितिले कार्यविधिअनुसार काम गर्नुपर्ने उहाँको धारणा छ । बेपत्ता व्यक्तिलाई पनि सहिदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति राज्यले दिनुपर्ने उहाँले बताउनुभयो ।

अभियान टोलीले मुलुकका विभिन्न ठाउँमा पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरीहरूको समीक्षा गर्ने र जनतामा विश्वास पुनः स्थापना गर्ने उद्देश्य रहेको जानकारी गराउनुभयो ।