जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने बताएका छन् । नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।
राजावादी पार्टी र संघसंस्थाहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै उनले राजतन्त्रलाई आफूहरूले समातेर मुन्ट्याएर फालिदिएको टिप्पणी गरे । ‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो । अर्को संविधान बनिसक्यो । संसद छ । राष्ट्रपति छ । न्यायालय छ । लोकतान्त्रिक व्यवस्था छ ।
र, हामी छौं,’ एमाले अध्यक्षसमेत रहेका ओलीले भने, ‘जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदएका छौं । हामी छँदैछौं यस देशमा । फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन् ।’ १५ जेठमा राजालाई सिंहासनमा राख्ने भन्दै राजावादीहरूले गरेको प्रचार प्रति पनि कटाक्ष गरे । ‘यो आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे । घरैमा बनाएर राख्ने होला । देशको राज सिंहासन भनेको गयो, गइसक्यो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्