काठमाडौं, १० जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बजेट तर्जुमाको विषयमा सांसदहरूसँग छलफल गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो । ‘अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना छैन तर, हामीले वास्तविक धरातलमा आधारित बजेट ल्याउनेछौँ, विगतका कमजोरीलाई सच्याउँदै सरकार अगाडि बढ्छ, प्रदेशलाई सही दिशामा लैजान प्रदेश सरकार आँटका साथ अघि बढ्ने प्रयासमा छ’, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले बजेटमा नयाँ योजना भन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर बजेट निर्माण गरिने उहाँले स्पष्ट पार्नुभयो ।
गत वर्षको तुलनामा यस वर्ष प्रदेशको राजस्वमा आशाजनक वृद्धि भएको र सुधारको अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रम र बजेटबिच तालमेल हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले प्राथमिकताका आधारमा बजेट निर्माण हुनुपर्ने, प्रदेशको वास्तविक अवस्था र सूचकहरूका आधारमा बजेट तयार हुनुपर्ने सुझाव दिनुभयो ।
मन्त्रालयका सचिव डिलाराम पन्थीले प्रदेश सरकारले दोस्रो आवधिक योजनाले लिएका क्षेत्रगत प्राथमिकता, नीति तथा कार्यक्रम, बहुवर्षीय स्रोत सुनिश्चितता भएका योजनाहरू समयमै सम्पन्न गर्नेजस्ता विषयलाई ध्यानमा राखेर बजेट विनियोजनको प्राथमिकता निर्धारण गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्