काठमाडौं, ११ जेठ । नेकपा एमालेका वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले मिसन २०८४ मा हिजो एमालेलाई दुःख दिनेको सावाँ–ब्याज समेत फिर्ता गरिने बताउनुभएको छ ।
आइतबारबाट सुरु भएको नेकपा नेकपा एमालेबाट निर्वाचित भएका वाग्मती प्रदेश भित्रका वडाध्यक्षहरूको भेलालाई ललितपुरमा सम्बोधन गर्दै ढुङ्गेलले त्यसको लागि एमालेले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । ‘मिसन २०८४ मा २०७९ को चुनावको सावाँ–ब्याज फिर्ता लिनु पर्ने छ, तपाईँहरू हिजोका सावाँ–ब्याज फिर्ता गर्ने गरी जनताको बिचमा जानुस्’, उहाँले भन्नुभयो ।
नेकपा एमाले वाग्मती प्रदेशले आयोजना गरेको दुई दिने भेलालाई सम्बोधन गर्दै ढुङ्गेलले वडाध्यक्ष जनताको दैनिक जीवनसँग जोडिएर काम गर्ने जनप्रतिनिधि भएका बताउनुभयो । त्यसैले वडाका जनप्रतिनिधिले गरेका कामले सिङ्गो पार्टी र व्यवस्थाको बारेमा सकारात्मक सन्देश दिन सक्ने ढुङ्गेलको धारणा छ ।
अहिले पनि केही भएको छैन, सबैतिर अँध्यारै अँध्यारो छ भन्ने भ्रामक प्रचार गरिएको बताउँदै उहाँले त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो । आज वडासम्म पुग्ने सडक, विद्युत्, खानेपानी, स्वास्थ्य पूर्वाधार हरेक क्षेत्रमा नेपालले विकास गरेको ढुङ्गेलले बताउनुभयो । त्यसको अगुवाइ नेकपा एमालेले गरेको उहाँले दाबी गर्नुभयो । ‘विद्यालय भुईँमा हेर कि बिजुलीको पोलमा हेर, स्कुलको भित्तामा हेर कि खानेपानीको ट्याङ्कीमा हेर, एमालेको रगत पसिना झलझली देखिन्छ, त्यसको नेता तपाईँहरू हो, तपाईँहरूले गर्नुभएको छ’, उहाँले भन्नुभयो ।
अब सुशासनको क्षेत्रमा बढी ध्यान दिन पनि उहाँले वडाध्यक्षहरूलाई आग्रह गर्नुभयो । निर्णयमा सहभागिता, पारदर्शिता, जबाफदेहिता र जिम्मेवारीमा ध्यान दिन उहाँले वडाध्यक्षहरूलाई सुझाव दिनुभयो ।
आजसम्मको अवस्था तुलना गर्दा एमाले अरूभन्दा धेरै माथि सगरमाथाको टुप्पामा पुगेको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । वडाका विभिन्न स्रोत र साधनका नक्सा बनाएर त्यही नक्साका आधारमा कामलाई अघि बढाउनु पर्नेमा ढुङ्गेलले जोड दिनुभयो ।
विज्ञ जनशक्ति बाहिरबाट ल्याउन सकिने भए पनि जनप्रतिनिधि भने त्यहीँको बन्ने भएकोले जनप्रतिनिधि सबैभन्दा इमानदार बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । जनप्रतिनिधिको कामले नै देशको मुहार फेर्न र त्यसैले पार्टीको हार जीतको आधार बन्ने भएकोले आउने निर्वाचनमा पार्टीले जित्ने गरी काम गर्न उहाँले निर्देश गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्