जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार १४:३३

गायक तथा साहित्यकार गणेश रसिकको निधन 


काठमाडौं, १८ जेठ । गायक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ ।

ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका रसिकको आज निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोष्टेट क्यान्सरका बिरामी हुनुहुन्थ्यो ।

भोजपुरमा जन्मनुभएका रसिकले नेपाली गीत, सङ्गीत र साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । उहाँका विभिन्न गीतसङ्ग्रह, कथासङ्ग्रह, उपन्यास, संस्मरण लगायतका कृतिहरू प्रकाशित भएका छन् ।

रसिकले साझा प्रकाशन तथा रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक भएर काम गरिसक्नु भएको थियो । त्यस्तै सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएर समेत उहाँले काम गरिसक्नु भएको थियो ।

रसिककी छोरी बेलायतमा रहनु भएकाले उहाँले त्यहाँबाट आएपछि अन्तिम संस्कार गरिने भएको छ । उहाँकी पत्नी निरा शेरचनको २०७८ सालमा निधन भइसकेको छ । उहाँको शव टिचिङ अस्पतालमा राखिएको छ ।