जनता टाइम्स

१८ जेष्ठ २०८२, आईतवार २०:१६

प्रचण्डलाई प्रश्न सोध्न खोज्ने सञ्चारकर्मी कुटिए, मोबाइल पनि जफत


काठमाडौं, १८ जेठ ।  काठमाडौंको प्रज्ञा भवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्षलाई प्रश्न सोधेको निहुँमा एक पत्रकारले कुटाइ खाएका छन् ।

माओवादी निकट वाईसीएलको कार्यक्रममा उनीमाथि कुटपिट भएको हो । प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेका एनपीएल प्रेसका सञ्चालकसमेत रहेका पत्रकार सुरज सो कार्यक्रममा प्रचण्ड आउने क्रममा आफूले प्रश्न सोध्न खोजेको बताउनुभएको छ ।  ‘अध्यक्ष प्रचण्ड गाडीबाट झरेर हलभित्र पस्ने क्रममा मैले प्रश्न सोध्ने प्रयास गरेको थिएँ, तर प्रचण्डले फर्केर गाली गर्नुभयो, यो प्रश्न सोध्ने टाइम हो ? भनेर प्रचण्डले गाली गरेरेलगत्ते वाइसीएलहरु ममाथि खनिए’, उहाँले भन्नुभयाे ।

आफूलाई झ्यापझुप पारेर एउटा कोठाभित्र लगेर थुनेको सुरजको भनाइ छ । ‘करिब २०/२५ जनाले कोठाभित्र थुनेर मलाई कुटे’, पत्रकार सुरजले भन्नुभयो ‘कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात्ति हाने, मेरो मोबाइल पनि खोसे ।’

आफूले अहिले पनि मोबाइल फिर्ता नपाएको उहाँ बताउनुभयो । प्रचण्डलाई प्रश्न सोध्ने प्रयास गर्दा दुई दिनभित्र दुईजना कुटिएका छन् । हिजो मात्रै नुवाकोटको एक विद्यालयको कार्यक्रममा प्रचण्डलाई प्रश्न सोध्न खोजेका एक राजावादी युवकमाथि माओवादी कार्यकर्ताले हातपात गरेका थिए ।