नवलपुर, १९जेठ । देवचुली नगरपालिका वडा नं। २ स्थित दुम्कौली चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ बिरामी बोकेर आउँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ गइरहेको केउरेनीस्थित दिव्य एकेडेमी बोर्डिङ स्कुलको बा २० च ७२ नम्बरको भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी नायब उपरिक्षक मधु नेपालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ निवासी ५२ वर्षीय कुल प्रसाद सुबेदी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै पुरानो मेडिकल कलेज, भरतपुर चितवन लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको नेपालले जानकारी दिनुभयो । दुर्घटनामा परि एम्बुलेन्समा सवार ३ जना बिरामी घाइते भएका छन्। घाइतेमध्ये रुपन्देही, बुटवल उपमहानगरपालिका–३ गोलपार्क निवासी ३६ वर्षीया लक्ष्मी राईको टाउकोमा चोट लागेको छ भने २५ वर्षीया इसु राई र २५ वर्षीया स्नेहा परियारको अनुहारमा चोट लागेको छ। तिनीहरुको अवस्था मध्यम रहेको र थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी,स्कुल भ्यानमा सवार दुईजना विद्यार्थीहरू देवचुली–१७ निवासी १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का सामान्य घाइते भएको र स्थानीय भविष्य पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्