जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १४:०१

कांग्रेसले पनि गणतन्त्रको पक्षमा आमसभा गर्ने


काठमाडौं, १९ जेठ । सत्तारूढ नेपाली कांग्रेसले गणतन्त्रका पक्षमा आमसभा गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आमसभा गर्ने निर्णय भए पनि कुन मिति र स्थानमा गर्ने भन्ने तय भइसकेको छैन ।“गणतन्त्रका पक्षमा सभा गर्ने भन्ने भएको छ । तर, मिति र स्थान तोकिसकेको छैन,” बैठकमा सहभागी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले भन्नुभयो, “यसका विषयमा थप होमवर्क भएपछि स्थान र समय पनि तोकिने छ ।”गणतन्त्रविरुद्ध राजावादीको आन्दोलन जारी रहँदा नेकपा (एमाले)ले गणतन्त्र दिवसकै दिन जेठ १५ गते झाँकीसहितको र्‍याली गरेको थियो । त्यसअघि गत चैत १५ गते नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंमा कार्यक्रम गरेको थियो ।कांग्रेसले भने त्यस्ता कार्यक्रम राखेको थिएन । तर, गणतन्त्रका पक्षमा सन्देश दिनेगरी कार्यक्रम गर्ने तयारी गरेको हो ।