जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १४:३१

एमाले संसदीय दलको बैठक सुरु 


काठमाडौं, जेठ १९ । सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ ।

पार्टी संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टी संसदीय दलको कार्यालय संघीय संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा बैठक बसिरहेको छ । बैठकमा एमालेबाट संघीय संसदमा निर्वाचित सांसद, मन्त्रीहरूका साथै पार्टी महासचिव शंकर पोखरेलको पनि सहभागिता रहेको छ ।

आजको बैठकमा संसद्मा प्रस्तुत बजेटमाथि छलफल हुने बताइएको छ । यसका साथै समसामयिक विषय र संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा पनि बैठकमा छलफल हुने भएको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट गत जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । अब संसदमा बजेट र कार्यक्रम माथि छलफल हुने छ ।

माओवादी लगायतका प्रतिपक्षी दलहरूले गृह मन्त्रीको राजीनामा माग गर्दै नियमित रूपमा संसद् चल्न दिएका छैनन् । उनीहरूले बजेट ल्याउनको लागि मात्र संसद् खोलिदिएको बताएका छन् । यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूलाई निर्देशनात्मक सम्बोधन गर्नुहुने छ ।