काठमाडौं, २० जेठ । गृह मन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका संघीय संसद्का प्रतिपक्षी दलहरू संसद् खुलाउने विषयमा सकारात्मक भएका छन् ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकलाई जोडेर राजीनामा माग्दै आइरहेका प्रतिपक्षी दलहरू गृह मन्त्रीलाई संसदमा बोल्न दिन सहमत भएका छन् । सभामुख देवराज घिमिरेले बोलाउनुभएको दलका प्रमुख सचेतकहरूको बैठकमा संसद् चल्न दिने विषयमा सकारात्मक सहमति जुटेको हो ।
सकारात्मक सहमति भएसँगै दिउँसो २ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । यस अघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी २ बजेको लागि सारिएको हो ।
गृह मन्त्रीलाई बोल्न दिने र उहाँको जवाफ चित्त बुझे दलीय आधारमा बोल्ने र बैठक अघि बढाउने गरी सहमति बनेको छ । सो सहमति पछि विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
दुई बजे बैठक बस्ने भए पनि गृह मन्त्रीले बोलेपछि प्रतिपक्षीले उहाँको जवाफ चित्त नबुझेको भन्दै पुनः संसद् अवरुद्ध गर्ने जोखिम यथावत् नै छ ।
प्रतिक्रिया दिनुहोस्