काठमाडौं, २० जेठ । नेकपा एमाले केन्द्रीय सदस्य एवं सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले राजनीतिमा ‘झोले’ शब्दको अर्थलाई गलत रूपमा नबुझ्न आग्रह गर्नुभएको छ ।
राजनीतिमा सक्रिय भएर कुनै पार्टीको नीति, विचार र सिद्धान्तलाई आत्मसात् गर्दै समाजको सकारात्मक परिवर्तनमा योगदान पुर्याउनु झोले हुनुको वास्तविक मर्म भएको उहाँको धारणा छ । ‘म राजनीति शास्त्रकी विद्यार्थी पनि हुँ, मैले राजनीतिमा झोले भनेको कुनै पनि राजनीतिक दलको नीति बिचार र सिद्धान्तलाई आत्मसात् गरेर त्यसको कार्यकर्ता हुँदै समाजको सकारात्मक परिवर्तनको अभियानमा जोडिनु हो भन्ने बुझेको छु’, ढकालले भन्नुभएको छ ।
संवैधानिक सर्वोच्चतालाई स्वीकार गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गएको उहाँले उल्लेख गर्नुभएको छ । ‘जुन व्यवस्थामा बोल्न पाउने, अन्यायको विरुद्धमा आवाज उठाउन पाउने, प्रतिस्पर्धात्मक रूपबाट राज्यका सबै संरचनाहरूमा सहभागिता जनाउँदै नेतृत्व गर्न पाउने र रचनात्मक रूपले समाज संवृद्ध बनाउँदै अघि बढ्न पाउने अधिकार संवैधानिक रूपले स्थापित गरेका छौँ’, उहाँको धारणा छ ।
आज हामीले स्थापित गरेको व्यवस्थामा नागरिकले स्वतन्त्र रूपमा विचार राख्न, अन्यायको विरुद्ध आवाज उठाउन, प्रतिस्पर्धात्मक रूपमा नेतृत्व गर्न, र मन परेको दल रोज्न पाउने संवैधानिक अधिकार प्राप्त भएको उहाँले बताउनुभएको छ । ‘तसर्थ मैले रोजेको दल र मैले रोजेको नेतृत्वको झोला बोक्नु मेरो कर्तव्य र अधिकार दुवै हो भन्ने मैले बुझेको छु’, उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्