जनता टाइम्स

२० जेष्ठ २०८२, मंगलवार २२:१२

विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य आवश्यक : प्रधानमन्त्री 


काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

स्पेनको सेभिलामा यही जुन ३० देखि जुलाई ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले आव्हान गर्नुभएको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वच्छ प्रणालीगत सुधारका लागि पनि आग्रह गर्नुभयो ।

विभिन्न राष्ट्र प्रमुख/सरकार प्रमुख सहभागी भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले घट्दो विकास सहायता र लगानीका बिच विकासोन्मुख मुलुक आन्तरिक स्रोतबाट मात्रै धानिन नसक्ने भएकाले प्रभावकारी विश्व सहकार्यमा जोड दिनुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथै नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बताउनुभयो । नेपालले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।