जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १९:०९

गृहमन्त्रीको राजीनामा पनि आउँदैन, छानबिन समिति पनि बन्दैन : एमाले


काठमाडौं, २१ जेठ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न सम्भव नभएको बताउनुभएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरै छैन। राजीनामा आउँदैन,छानबिन समिति पनि बनाउन आवश्यक छैन।’

उहाँले गृहमन्त्रीलाई संसद्‌बाट जवाफ दिन वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने बताउनुभयो । संसद्को गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रूपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिपक्षीले सदनलाई बन्धक बनाएको उहाँको आरोप छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन्। उनीहरूले उच्चस्तरीय छानबिन समिति गठनको पनि माग गरेका छन्। सत्तापक्ष र प्रतिपक्ष दुवैको अडानका कारण हिजो र आज बस्दै नबसी संसद् बैठक स्थगित भयो। बैठक भोलि दिउँसो १ बजे बस्ने सूचना टाँस गरिएको छ।