काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ। आइसिसी विश्वकप लिग(२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् बधाई दिनुभएको हो । बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘फेरि जित, फेरि बधाई। आईसीसी सिडब्लुसी लिग–२ अन्तर्गतको नेपाल र नेदरल्याण्ड बीचको खेलमा नेपालले ५ विकेटले शानदार जित हासिल गरेको छ। हार्दिक बधाई।’
यसअघि नेपालले रोमाञ्जक खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको जित निकालेको थियो। बुधबारको खेलमा नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जितमा आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरे। ९९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का सहित ७८ रन बनाए।
यस्तै दीपेन्द्र सिंह ऐरीले नटआउट ३८ रन बनाउँदा कप्तान रोहित पौडेल २३ रनमा रनआउट भए। ओपनर कुशल भुर्तेलले २५ रन बनाउँदा अर्का ओपनर आसिफ शेख १९ रनमा समेटिए। बलिङतर्फ सोमपाल कामीले तीन विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीले समान दुईदुई विकेट हात पारे।













प्रतिक्रिया दिनुहोस्