जनता टाइम्स

२४ जेष्ठ २०८२, शनिबार ०७:०७

बाजुराको बाम्का बजारमा भीषण आगलागी : पीडितलाई राहत उपलब्ध गराउन माग


बाजुरा , २४ जेठ । बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा भीषण आगलागी भएको छ । हिजो दिउँसो ग्यास सिलिण्डर पड्किँदा भएको आगलागी बेलुकी मात्रै नियन्त्रणमा आएको थियो । दमकल नभएको र हावाहुरी पनि चलेका कारण आगो समयमै निभाउन नसकिएको बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

बजारको एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीबाट झन्डै ४० वटा पसल जलेर नष्ट भएको छ । विस्थापित परिवार छिमेकीमो आश्रय लिएर बसेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । पालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेतासहितको आकस्मिक बैठकले क्षतिको विवरण सङ्कलन गर्ने र क्षतिपूर्ती उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र पालिकाका साथसाथै विभिन्न सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले आगलागी पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय पनि गरेको छ ।