जनता टाइम्स

२६ जेष्ठ २०८२, सोमबार ००:५७

आइसिसी क्रिकेट विश्वकप लिग–२ : जम्मा दुई रनले हार, हार्दा पनि कीर्तिमान बनाउन सफल नेपाल 


काठमाडौं, २६ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भए पनि नयाँ कीर्तिमान भने बताउन सफल भएको छ ।

आइतबार राति भएको खेलमा ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अत्यन्त राम्रो ब्याटिङ गर्दै ३ सय २१ रन बनाएको छ । फिनिसिङमा चुक्दा नेपाल ऐतिहासिक जित बनाउन सकेन तर अन्तराष्ट्रिय खेलमा राम्रो कीर्तिमान राख्न सफल भएको छ ।

याे अन्तराष्ट्रिय खेलमा नेपालले अहिलेसम्मकै हाइस्कोर बनाएको छ । खेलमा तीन नेपाली खेलाडीहरूले अर्धशतक पनि खेलेका छन् । नेपालका लागि भीम सार्की, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले अर्धशतक प्रहार गरेका छन् ।

स्कटल्यान्डले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३ सय २१ रन बनाएर अल आउट भएको थियो ।

नेपालका भीम सार्कीले, ७३ रन खेले भने दिपेन्द्रसिं ऐरीले ५६ रन र सोमपाल कामीले ६७ रनको योगदान गरे ।

लिग–२ को अङ्क तालिकामा नेपाल १० अङ्कसहित सातौँ स्थानमा छ । नेपालले अहिलेसम्म १५ खेल खेलेको छ । १६ खेल खेलेको युएई ६ अङ्कसहित पुछारमा छ ।

शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अङ्क बनाएको छ । दोस्रो स्थानमा नेदरल्यान्ड्स छ । जसले  २२ खेलबाट २६ अङ्क जोडेको छ ।

त्यस्तै तेस्रो स्थानको स्कटल्याण्डले १९ खेलबाट २४ अङ्क जोडेको छ । चौथो स्थानमा रहेको ओमानले २० खेलबाट २४ अङ्क जोड्दा पाँचौँ स्थानको क्यानडाले २० खेलबाट २० अङ्क जोडेको छ ।

नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २०  खेलबाट १४ अङ्क जोडेको छ ।

यस सिरिजमा नेपालले आफ्नो अन्तिम खेल नेदरल्याण्ड्सविरुद्ध खेल्दै छ । यसअघिका दुई खेलमा नेपाल विजयी भएको थियो ।

आजको खेलमा नेपाल प्राविधिक रूपमा हार्न पुगे पनि खेलको हिसाबले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ ।