काठमाडौं, जेठ ३० । चालु वर्षका ११ महिनाका देशको आर्थिक सूचकाङ्कले भन्छ, ‘बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा गइरहेको छ । अनि बाह्य सूचक बलियो बन्दै गएका छन ।’ प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको याजनावद्ध काम र मेहनतको परिणाम स्वरुप यस अवधीमा अर्थतन्त्र निरन्तर सुधारोन्मुख दिशामा रहेको तथ्यांकले देखाउँछ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार रेमिट्यान्सको आकार बढ्दै गएको छ । निर्यातमा सुधार भइरहेको छ । देशबाट बाहिरिने विदेशी मुद्राभन्दा भित्रिने हिस्सा बढ्दा शोधनान्तर निरन्तर बचतमा रहेको छ । निरन्तर सुधारको बाटोमा रहेको अर्थतन्त्रबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले बिहीवार भन्नुभएको छ, ‘ विगत ११ महिनायताको देशको आर्थिक सूचकाङ्क । बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै छौं ।’
प्रधानमन्त्री ओलीले यो भनाईको साथमा अर्थतन्त्रको तस्विरसमेत राख्नुभएको छ । हुन पनि यसबीचमा विदेशी विनिमय सञ्चितिको आकार बढ्दै जाँदा वस्तु तथा आयात धेरै महिनालाई धान्न सक्ने स्थिति रहेको छ । मूल्यवृद्धि क्रमशः नियन्त्रण हुँदै गएको छ । अर्थात, अर्थतन्त्रका बाह्य सूचक सुदृढ हुँदै गएका छन ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भइ गत बर्षको असार २८ गते नियुक्त भइ असार ३१ गतेबाट सत्ताको बागडोर सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले आज ११ महिना पुगेको छ । अर्थतन्त्रको तथ्यांकअनुसार यो अवधीमा सरकारको खातामा ३ खर्व ६० अर्ब रुपैयाँ मौज्जात रहेको छ । यस्तै सोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड रुपैयाँले बचत छ । ११ महिनामा आयात १३ प्रतिशत बृद्धिमा सिमित रहँदा निर्यात ७३ प्रतिशतले बृद्धि भएको छ ।
यस्तै रेमिट्यान्स एक महिना मै एक खर्व ६५ अर्बको रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स गत बर्षभन्दा १३ दशमलव २ प्रतिशतले बृद्धि भएको छ । यसैगरी बिदेशी मुद्रा बिनिमयको सञ्चिती १८ अर्ब ४० करोड रहेको छ । सरकारको योजनावद्ध काम र अर्थ मन्त्रालयको पहलकदमीले राजस्व परिचालनमा पनि सकारात्मक रहेको छ । राजस्व परिचालन ९ सय २२ अर्ब ४३ करोड रहेको छ मूल्य बृद्धिदर पनि घटेको छ । मूल्यबृद्धि हाल २ दशमलव ७७ प्रतिशत रहेको छ ।
मुलुकको यो आर्थिक सूचकाङ्कले बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको तस्विर देखाउँछ । यस्तै लामो समयदेखि महँगीको मार खेपिरहेका आम उपभोक्तालाई पछिल्लो समय केही राहत मिलेको छ । यो बर्षको बैशाख अर्थात अघिल्लो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत छ । गत वर्ष वैशाखमा मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो ।
अझ चालु आवको १० महिना अवधिमा मुद्रास्फीति गत मंसिर (चालु आवको ६ महिना) मा तोकिएको सीमाभन्दा माथि अर्थात् ६.०५ प्रतिशत थियो । जबकि चालु आवमा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएको थियो ।
वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ ।
यस्तै तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको छ ।
सुधारोन्मुख निर्यात
मुलुकको निर्यातमा सुधारोन्मुख स्थिति देखिएको छ । गत आर्थिक वर्षको १० महिनामा ३.६ प्रतिशतले घटेको कुल वस्तु निर्यात चालु आर्थिक वर्ष २०८१/८२ को सोही महिनामा भने ७२.७ प्रतिशतले वृद्धि भएको छ । यसरी निर्यातको आकार बढ्दा वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोडको निर्यात भएको छ । यो निर्यात विगत २ आर्थिक वर्ष यताकै अधिक हो । अझ गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ । तर, यसअवधिमा पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अलंैचीलगायत वस्तुको निर्यात घटेको छ ।
यस्तै कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भएको छ । जसअनुरूप १० महिनामा १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो । सो आयातमा भटमासको कच्चा तेल, चामल÷धान, खाने तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरनलगायत वस्तुको आयात बढेको छ ।
यसबाहेक पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइलालगायत वस्तुको आयात घटेको छ । पछिल्लो समय निर्यातमा झिनो सुधार हँुदा व्यापार घाटामा थोरै कमी आएको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएको थियो ।
रेमिट्यान्समा नयाँ रेकर्ड
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अझ गत आव अहिलेको भन्दा बढी वृद्धि भएको थियो ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । गत वर्षको वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड भित्रिएको थियो । समग्रमा यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ ।
गत आर्थिक वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४,०५,६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २,८०,३१४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,७३,३०७ र २,३६,३९८ रहेको थियो ।
चालु खाता र शोधनान्तर स्थिति निरन्तर बचतमा
देशबाट बाहिरीने भन्दा भित्रिने विदेशी मुद्रा अधिक हुँदा लामो समयदेखि शोधनान्तर बचतमा छ । यसअघि आर्थिक वर्ष २०७८/७९मा शोधनान्तर २५ अर्ब २३ करोड रुपैयाँले घाटामा थियो । यसपछि निरन्तर बचतमा देखिन्छ । चालु आवमा शोधनानतरको आकार झन बढेको छ ।
यस अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा छ ।
यससँगै, चालु खाता पनि निरनतर बचतमा छ । यस अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा छ ।
यससँगै, यस अवधिमा १० अर्ब ६० करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (ईक्वीटी मात्र) भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्वीटी मात्र) ७ अर्ब ५ करोड रहेको थियो ।
वैदेशिक अध्ययनमा ठूलो रकम बाहिरिँदै
विदेशी मुद्रा बाहिरिने अर्को ठूलो क्षेत्र वैदेशिक अध्ययन पनि बन्दै गएको छ । चालु आवको दश महिनासम्ममा शिक्षातर्पmको खर्च १ खर्ब १२ अर्ब ४४ करोड पुगेको छ । गत आवको सोही अवधिमा १ खर्ब ४ अर्ब २५ करोड शिक्षातर्फ खर्च भएको थियो ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय १७.९ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ३ करोड पुगेकोमा पनि बढी हिस्सा वैदेशिक अध्ययन गर्न गएकोबाट भएको छ । जसअन्तर्गत शिक्षामा १ खर्ब १२ अर्ब हाराहारी खर्च हुँदा बाँकी ७२ अर्ब ५९ करोड रुपैयाँ विदेश भ्रमण र उपचारमा भएको देखिन्छ । यसर्थ, नेपालबाट भ्रमणअन्तर्गत घुम्न, स्वास्थ्य र शिक्षामार्फत बाहिरिने रकमको ठूलो हिस्सा शिक्षा हो । यसकारण नेपालमा घुम्न आउने पर्यटन लगायतको आम्दानीभन्दा विदेश घुम्न, पढ्न र उपचार गर्न जाने नेपालीले गरेको खर्चको आकार ठूलो हुँदा समग्रमा सेवा खाता निरन्तर घाटामा छ । जसअनुरूप चालु आवको १० महिनामा खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा छ ।
गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको थियो । यद्यपि, सेवा खाताअन्तर्गत भ्रमण आय ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ६९ अर्ब ७३ करोड रहेको थियो ।
विदेशी विनिमय सञ्चिति २५ खर्ब माथि
रेमिट्यान्स बढिरहेकाले नेपालमा विदेशी मुद्रा बढी जम्मा भइरहेको छ । जसले मुलुकको विदेशी विनिमय सञ्चितिको आकार दिन प्रतिदिन बढ्दो क्रममा छ । यस्तो मुद्रा वैशाखसम्म २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । जबकि, गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर थियो । यसबीच विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको छ । कुल सञ्चिति अहिलेसम्मकै उच्च हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । विशेष गरेर कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब १ अर्ब ८३ करोड कायम छ । सो अवधिसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत छ ।
उक्त सञ्चितिबाट १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । जबकि, केन्द्रीय बैंकले कम्तीमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । तथापि, आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको हो ।
विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन ।
प्रतिक्रिया दिनुहोस्