काठमाडौं, जेठ ३० । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले पूँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बंैकले सहजीकरण गर्ने बताउनु भएको छ ।
आइएमई लिमिटेडद्वारा शुक्रवार आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर पौडेलले यस्तो बताउनु भएको हो । उहहाँले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आइएमई लिमिटेडले निकै महत्वपूर्ण काम गरेको पनि बताउनु भयो ।
‘आइएमईको यो योगदान धेरै ठूलो योगदान हो, देशका लागि धेरै ठूलो चुनौती लिएर काम गर्न सक्ने, रोजगारी र व्यावसायिक सम्भावना खोज्ने खालका व्यक्तिहरू आवश्यक छ,’ गभर्नर पौडेलले भन्नुभयो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले विदेशमा भएको कमाई औपचारिक माध्यमबाट नेपालमा ल्याउन आइएमई सफल भएको भन्दै आगामी दिनहरूमा राष्ट्र बैंकले जारी गर्ने नीतिनियम तथा निर्देशन पालना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
आइएमई ग्रुपका संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास नै नभएको अवस्थामा विदेशी रेमिटेन्स स्वदेश ल्याउन सफल भएको तथ्य राख्नुभयो । इमानदारीपूर्वक लागेर काम गर्दा असम्भव काम पनि सम्भव हुन पुगेको उल्लेख गर्दै संस्थापक अध्यक्ष ढकालले सरकारको प्राथमिकता, आमनागरिकको आवश्यकता र व्यावसायिक उद्यमीलाई आइएमईले महत्व दिएर काम गर्ने बताउनु भयो ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले सन् १९९४ देखि १९९८ सम्म जापानमा बस्दा नेपालमा पैसा पठाउन भोगेको समस्याले गर्दा आइएमई अभियानको सुरूआत भएको जानकारी दिनुभयो ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले २५ वर्ष अगाडिको जटिल परिस्थितिमा देशको आवश्यकतालाई बुझेर रेमिटेन्स सेवा सुरू गरेको बताउँदै नागरिकको गुणस्तरीय जीवनमा समेत योगदान पुर्याएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्