जनता टाइम्स

३० जेष्ठ २०८२, शुक्रबार २३:३२

प्रतिशोधको राजनीति बन्द गर्नुस्, मन्त्री पदबाट राजीनामा दिन्न : रमेश लेखक 


काठमाडौं, ३० जेठ । गृह मन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयलाई मन्त्रीहरूसँग जोड्न नमिल्ने बताउनुभयो । आफू लोकतन्त्र र विधिको शासनको पक्षमा लडिरहेको बताउँदै संवैधानिक आयोगले गर्ने अनुसन्धान प्रक्रियामा पूर्ण रूपमा सहयोग गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

आफूले कुनै पनि अनुसन्धानमा प्रभाव नपर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय अनुसन्धान आयोग आफ्नो मातहतको निकाय नभएको कारण पनि आफूले प्रभाव पार्ने कुनै सम्भावना नरहेको लेखकले स्पष्ट पार्नुभयो । ‘अड्कल र आशङ्का गरेर कुनै प्रमाण वा जाहेरी नै नभएको, उजुरी नै नभएको विषयमा पद त्याग गर्नुपर्ने परिपाटी लोकतन्त्रको मान्यता होइन’, उहाँले भन्नुभयो ।

प्रमाणबिना कसैको चरित्र हत्या गर्नु संसद्को मर्यादा विपरीत भएको उहाँले बताउनुभयो । आफ्ना विरुद्ध नक्कली पीडित खडा गरेर उजुरी दर्ता गराउने प्रयास भइरहेको उहाँको भनाइ छ । यस्ता नक्कली र किर्ते कागज बनाउनेलाई अनुसन्धान गरी कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ, जसको म खेद व्यक्त गर्छु’, उहाँले भन्नुभयो ।

नेपालमा वर्षौँदेखि भिजिट भिसा प्रणाली लागु भएको बताउँदै लेखकले आफू गृह मन्त्री भएपछि मात्रै सो प्रणाली लागु भए जसरी प्रचार गरिएको बताउनुभयो । भिजिट भिसा प्रणालीमा केही समस्या देखिएको बताउँदै उहाँले त्यसमा सुधार गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले आफ्नो विरुद्ध निकृष्ट आरोप लगाइएको भन्दै निकृष्ट खालका राजनीतिक पद्धति बन्द गर्न पनि आग्रह गर्नुभयो । ‘त्यो प्रतिशोधको राजनीति बाहेक केही होइन’, उहाँले भन्नुभयो ।

गणतन्त्र र संघीयता जोगाउन आफू लड्दै गर्दा आफ्नो विरुद्ध षडयन्त्रमूलक गतिविधि भएको उहाँले बताउनुभयो । यसका विरुद्ध सबै एक हुनु पर्नेमा लेखकले जोड दिनुभयो ।