धनगढी, ४ असार। कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ तर उनको शव दुई दिनदेखि उठेको छैन । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिनुभयो । उनी बैंकिङ कसुरका आरोपी हुन् । अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको जेलर तिमिल्सिनाले बताउनुभयो ।
मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्याउने बेला उनलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिना बताउँनुहुन्छ । उनको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक समेत देखिएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । उनको शव प्रादेशिक अस्पतालमै छ । पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो । त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्