जनता टाइम्स

६ असार २०८२, शुक्रबार ०६:५५

रोशी खोलाको बाढीमा फसेका ५ जनालाई सशस्त्र प्रहरीको टोलीबाट सकुशल उद्धार


काठमाडौं, ६ असार । काभ्रेको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलाको बाढीमा फसेका ५ जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

ढुंगागिट्टी निकाल्न भनेर टिपर र लोडरसहित राति करिब ९ बजेतिर खोलामा गएकाहरु एक्कासी बाढी आएपछि फसेका थिए ।उनीहरुलाई राति १२ बजे नेपाल प्रहरी र नेपाली सेनाको समेत सहयोगमा सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको पाँचखालस्थित सशस्त्र प्रहरीका गणपति प्रेम प्रसाईंले जानकारी दिनुभयो ।

उद्धार गरिएका व्यक्तिहरुमा तेमाल गाउँपालिका–५ गिम्दीका ४२ वर्षीय सन्जय लामा, तेमाल गाउँपालिका ५ कै ३२ वर्षीय रेबन तामाङ, नमोबुद्ध नगरपालिका–५ डाँडागाउँका १९ वर्षीय मुस्कान तामाङ, ओखलढुंगा घर भई नमोबुद्ध नगरपालिका–५ डाडागाउँ बस्ने २१ वर्षीय सागर राई र डोजर चालक दोलखाको भिमेश्वर नगरपालिका घर भई हाल डाँडागाउँ बस्ने २९ वर्षीय समिर तामाङ छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो । तर उनीहरु त्यसको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए ।

उनीहरुलाई उद्धार गर्न सुरक्षाकर्मीहरु सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । राति भंगालोमा फसेको जानकारी कटुन्जेबेंसी प्रहरी चौकीबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस (आईटी पार्क) पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिमसेन के.सी.को नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको टोली खटिएको थियो ।

उद्धार टोलीले अप्पर रिभर क्रसिङ्ग विधि र रोप रेस्क्यु विधि प्रयोग गरी उद्धार गरेको प्रसाईंले बताउनुभयो । उद्धार गरिएका सबै पाँच जना, एउटा लोडर र एउटा टिपर सकुशल रहेको प्रहरीले जनाएको छ ।