जनता टाइम्स

८ असार २०८२, आईतवार १४:११

टाल्दा टाल्दै भाँचियो मन्थलीको ठेडीखाेला नजिकै तामाकोशीमा बन्दै गरेको पक्कीपुल 


रामेछाप, ८ असार । रामेछापको मन्थलीमा निर्माणाधीन तामाकोशी माथिको पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।

जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल टाल्दा टाल्दै भत्किएको हो ।

सो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्पानको स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले टाल्दै थियो । भाँचिएको पुलको सो भाग पुनर्निर्माण गर्नुपर्ने स्थानीयले माग गरिरहेका भए पनि निर्माण कम्पनी र प्राविधिकको मिलेमतोमा भाँचिएको ठाउँमा पुल टाल्ने काम भइरहेको थियो ।

आइतबार बिहान टाल्दै गरेको पुल भाँचिएर भत्किएको हो ।  भाँचिएको स्ल्याब भुईँमा धसिएको छ ।

यो पुल २०८२ साल भदौ अन्तिमसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि असारमा निर्माण सम्पन्न गर्ने तयारी निर्माण कम्पनिले गरेको थियो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुल भत्किएको हो ।

सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाइन एण्ड विल्ड प्रकृतिको हो । कुल २ सय ३० मिटर लामो र ११ मिटर चौडा सो पुल निर्माणको लागि कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैँयामा मा ठेक्का सम्झौता भएको थियो । सो रकम मध्ये ६० प्रतिशत रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेको छ ।

पुल बनेपछि सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–७ भटौली सहित खाँडादेवी, दोरम्बा शैलुङ सुनापति गाउँपालिकाको विभिन्न वडा पुग्न सहज हुने थियो । तर निर्माण पुरा नहुँदै पुल भत्किएपछि पुलको बाँकी निर्माण कार्य अनिश्चित भएको छ ।