जनता टाइम्स

११ असार २०८२, बुधबार २०:१९

भारी वर्षा हुन्छ, सवारी नचलाउनू भन्दा अटेर गरे त्यो ठाउँका प्रजिअ सहितलाई कारबाही हुनेछ– गृहमन्त्री


काठमाडौं, ११ असार।  गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँले उक्त निर्णयहरूका बारेमा आम नागरिकसम्म पुर्‍याउन सूचना प्रवाहमा ध्यान दिन आग्रह समेत गर्नुभयो । ‘कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारी साधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ,’ उहाँले भन्नुभयो , ‘कारण देखाउनुपर्ने छैन। बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैका भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ।’ उहाँले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरूलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशन समेत दिनुभयो ।