काठमाडौं, १३ असार । काठमाडौं उपत्यकासहित देशका धेरैजसो पहाडी भेगमा रातभर पानी परेको छ । राति काठमाडौंसहित डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, इलामलगायत ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो ।
तर, बिहान भने काठमाडौंसहित देशमा धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसो र राति सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अबका केही दिन राति पानी पर्ने र दिउँसो घाम लाग्ने देखिएको छ । मनसुनी वर्षाको प्रणाली अझै कमजोर रहेकाले दिनभन्दा रातमा बढी पानी पर्ने गरेको हो ।
महाशाखाका मौसमविद्का अनुसार नेपालनजिक मनसुनी रेखा निकै पातलो छ । त्यो बलियो भएसँगै मनसुन बलियो भएर देशव्यापी वर्षा हुनेछ । मनसुन भित्रिएको करिब एक महिना हुन लाग्यो ।
प्रतिक्रिया दिनुहोस्