काठमाडौं, १६ असार । राजपथको सिस्ने खोला स्थित नाग ढुङ्गा सुरुङ मार्गको काठमाडौँ प्रवेशद्वार अगाडिको भागमा जमिनमा चिरा परेको छ ।
निर्माणाधीन नाग ढुङ्गा मुग्लिङ सडक अन्तर्गत नाग ढुङ्गा नौविसो सडक खण्डमा पर्ने त्रिभुवन राजपथमा अघिल्लो वर्ष पहिरो गएको सो क्षेत्रमा अहिले पुनः जमिन चिरिएको हो । नजिकै बस्ती र तल सडक रहेको सो क्षेत्रको जमिन चिरिएको र केही भाग सरेको सुचना आए पछि नाग ढुङ्गा नौबिसे सडक आयोजना र सुरुङ निर्माण आयोजनाका प्रमुख र प्रविधि सहित अनुगमन गरेको छ ।
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार सुरुङ मार्ग प्रवेशद्वारको अघिल्लोतिरको दाहिनेपट्टि करीब १ सय ८० मिटर चौडाइ र ४० मिटरको उचाइमा पहिरो बग्ने सम्भावना रहेको प्रविधिकहरुको भनाई छ। यसभन्दा अघि पनि पहिरो गएको र सो क्षेत्रमा त्रिपालले ढाकिएको भए पनि पुन जमिन चर्किएको देखिएपछि तत्काल माथिल्लो भागमा त्रिपाल राखेर पानी छिर्न नदिई सम्भावित जोखिम कम गर्ने वातावरण बनाउन र आवश्यक सामाग्रीको व्यवस्थापन गर्न दुवै आयोजना प्रमुखलाई धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्देशन समेत दिनु भएको छ ।
पहिरोको नजिकै माथिल्लोपट्टि केही घरहरु पनि रहेका छन् । पहिरो झर्दा माथि रहेका घर सँगै तल रहेको सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथमा समेत प्रभाव पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्