मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफू एमाले पार्टीको सदस्यका रूपमा सक्रिय रहेको र पार्टीले दिने जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ त्यो चाहिँ केन्द्रीय कमिटीमा नै भर पर्ने कुरा हो, विधान महाधिवेशनमा उहाँहरूले मलाई प्रतिनिधिको रूपमा सहभागी गराउनु हुन्छ वा आमन्त्रित सदस्यको रूपमा गराउनुहुन्छ त्यो उहाँहरूले निर्णय गर्ने कुरा हो, तर देशै भरिका पार्टी सदस्यहरूको माग अनुसार गर्नु हुन्छ भन्ने मलाई विश्वास छ’, उहाँले भन्नुभयो ।
उहाँले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको स्पष्ट पार्दै आफू एमाले पार्टी परिवारमा जोडिएको बताउनुभयो । ‘यहीँ सक्रिय भएर देशको सेवा गर्ने कुरा पहिल्यै स्पष्ट गरिसकेको छु,’उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा भण्डारीले आफू राष्ट्रपति रहँदा भएको संसद् विघटन संवैधानिक सीमाभित्र रहेर भएको बताउनुभयो । ‘संसद् विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकार छु, २०१७ सालमा पनि संसद् विघटन भयो, २०५१ सालमा पनि भयो, ती सबै कुराहरू इतिहासमै आउँछन्।’
उहाँले आफूले कुनै पनि दबाब वा प्रभावमा परेर संसद् विघटनको सिफारिस सदर नगरेको दाबी गर्नुभयो । ‘मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्नु मेरो संवैधानिक कर्तव्य थियो, मैले संविधानअनुसार काम गरेकी हुँ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्