काठमाडौं, १ साउन । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।
विधान महाधिवेशनको तयारी, पार्टी संगठन सुदृढीकरण र सरकारको एक वर्षे कार्यकालको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।
बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बैठकमा पार्टी विधान संशोधनको प्रारम्भिक खाका प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। पौडेललाई यसअघि नै विधान संशोधन समिति संयोजकको जिम्मेवारी दिइएको थियो।
आजको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सङ्गठनात्मक प्रतिवेदन बारे पनि छलफल हुने छ। यी प्रतिवेदनहरूमाथि छलफल गरेर पार्टीको आगामी नीति, कार्यक्रम र सांगठनिक संरचनामा स्पष्ट दिशा दिने तयारी गरिएको छ।
त्यस्तै, सचिवालय बैठकले भोली साउन २ गते बस्ने पोलिटब्युरो बैठक र साउन ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठकको कार्यसूचीसमेत तय गर्ने छ। यी बैठकहरूमार्फत विधान महाधिवेशनका प्रस्ताव र नीतिहरूलाई थप संस्थागत गर्ने लक्ष्य राखिएको छ।
एमाले नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा सरकारले गरेका काम कारबाहीको समीक्षा पनि बैठकको कार्यसूचीमा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्