जनता टाइम्स

३ श्रावण २०८२, शनिबार २२:२१

सिन्धुलीमा अत्यधिक वर्षाको सम्भावना : सतर्कता अपनाउन स्थानीय प्रशासनकाे आग्रह


सिन्धुली, ३ साउन। सिन्धुली जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै आगामी तीन दिनसम्म अत्यधिक वर्षा हुने सम्भावना रहेकाले नदी आसपासका क्षेत्र तथा राजमार्गहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार आज साउन ३ गते रातीदेखि साउन ५ गते सोमबारसम्म सिन्धुली जिल्लामा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। यसका कारण सुनकोशी नदीलगायतका नदी तथा तटीय क्षेत्रहरूमा बाढी तथा भूक्षयको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।

प्रशासनले नदी किनार र आसपासका क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहनुका साथै अत्यावश्यक नपरेसम्म ती स्थानहरूमा नजान अनुरोध गरेको छ। साथै बिपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन र ट्राफिक प्रहरी तथा सुरक्षा निकायका निर्देशनको पालना गर्न आग्रह गरिएको छ।

प्रशासनले सबै स्थानीय तह, सरोकारवाला निकायहरू र सर्वसाधारणहरूलाई आपतकालीन अवस्थाको सम्भावनालाई मध्यनजर गर्दै पूर्वतयारी गर्न र सम्भावित विपद् न्यूनीकरणमा सक्रिय सहयोग गर्न आह्वान गरेको छ। जिल्ला प्रशासन कार्यालय  सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटवालले हस्ताक्षर गरी जारी गर्नु भएको सूचनामा प्राकृतिक प्रकोपबाट हुने सम्भावित क्षति रोक्न सचेतना र सतर्कता नै पहिलो उपाय भएको उल्लेख गरिएको छ। सुरक्षाको दृष्टिले नागरिकलाई सतर्क, स्थानीय तहलाई चनाखो र आपत् व्यवस्थापन संयन्त्र तयारी अवस्थामा रहन  स्थानीय प्रशासनले जनाएको छ ।