काठमाडौं, ७ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता लिएपछि सर्त पालना नगरेको खुलासा गर्नुभएको छ। केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सर्तविपरीत भण्डारीले सदस्यता लिएको सार्वजनिक गर्दै सक्रिय राजनीतिमा होमिएको घोषणा गरेपछि एमालेले केन्द्रीय कमिटीबाटै रोक्ने निर्णय गर्नुपरेको बताउनुभएको छ । “सदस्यता नवीकरण भएपछि सार्वजनिक नगरौँ, यो विशेष विषय हो, उपयुक्त समयमा सार्वजनिक गरौँ भन्ने सहमति थियो,” महासचिव पोखरेलले भन्नुभयो, “उहाँले नै सार्वजनिक गरेपछि हिजो निर्णयमा पुगेका हौँ ।”
उहाँले राजनीतिमै फर्कन मिल्दैन भन्ने एमाले केन्द्रीय कमितिको निर्णयसँग सदस्यता स्वतः निष्क्रिय हुने तर्क गर्नुभयो । “राजनीतिमा फर्किन मिल्दैन भन्ने निर्णय गरेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ,” महासचिव पोखरेलले भन्नुभयो । एमालेले केन्द्रीय कमिटीबाट निर्णय गर्दा राष्ट्रपति गणतन्त्रको प्रतीक भएको भन्दै पदबाट बाहिरिएपछि पनि पूर्वराष्ट्रपतिको सम्मानमा बस्नुपर्ने भनेको थियो । “मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ,” केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ, “यसले जनता, प्रणाली, व्यवस्था र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ ।” एकदिनमै एमालेले सार्वजनिक गरेको आदर्श अवधारणा सामान्य मनमुटावका कारण लिएको निर्णयमा परिणत भएको छ । महासचिव पोखरेलले भण्डारीले अहिले नै सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा फर्किने घोषणा नगरेको भए केन्द्रीय कमिटीले निर्णय नगर्ने र समय क्रममा सबै कुरा हुँदै जाने खुलासा गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्