जनता टाइम्स

९ श्रावण २०८२, शुक्रबार ०९:१६

पूर्वराष्ट्रपति विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमालेका कुनै नेता नजाने, सचिवालयका मात्रै रहने


काठमाडौं, साउन ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्न लाग्नुभएको पत्रकार सम्मेलनमा नेकपा एमालेका कुनै नेता नजाने हुनुभएको छ ।

नेकपा एमालेले पूर्वराष्ट्रपति कुनै दलको सदस्य हुन नमिल्ने जनाउँदै सदस्यता नवीकरण नगरेपछि पहिलो पटक भण्डारीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । उहाँको पत्रकार सम्मेलनमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, कर्ण थापा, गोकुल बाँस्कोटा, आनन्दप्रसाद पोखरेल, गौरी वलीलगायतका नेताहरू सहभागी हुने बताइए पनि कोही सहभागी नहुने तय भएको छ ।

यद्यपि कर्ण थापा भने सहभागी हुने सो टिमका एक नेताले बताएका छन् । पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका नेताहरू आफूहरू मैदानमा उत्रिएर ढलेको भन्दै कडाभन्दा कडा शब्दबाण प्रहार गर्न पूर्वराष्ट्रपति भण्डारीलाई दबाब दिइरहे पनि भण्डारीले कडा होइन, नरम भन्न थालेपछि अब यिनीबाट पार लाग्दैन भन्दै एमालेका खाइपाइ आएका वरिष्ठहरू खिस्रिक्क परेका हुन ।

पूर्वराष्ट्रपति भण्डारी पार्टी विभाजनकै तयारीमा रहेको भन्दै केही मिडियामा समाचार लेखाउन थालेपछि भंगालसमेत सचेत बनेको श्रोतको भनाई छ । पार्टी विभाजनको अपराध गर्नसमेत पछि पर्नुहुन्न भन्ने कुरा आएपछि पूर्वराष्ट्रपतिले ठाडै अस्वीकार गर्नुभयो । त्यसपछि एमालेभित्र खाएर मोटाएको किर्नाहरू पार लाग्दैन भन्दै कोही नजाऊ भन्न थालेका छन्,’ स्रोतले जनताटाइम्स डटकमसँग भन्यो ।

एमालेमा भण्डारीतिर खुलेर लागेका नेताहरू भने तपाईँको पक्षमा भिड्दा अब पार्टीमा कुनै कमिटीमा पनि जित्ने अवस्था र जिम्मेवारी पाउने अवस्था रहेन भन्दै बिभाजनतिरै उक्साइरहेका छन् । यो खेतीमा मन्त्री भइसकेका बदनाम पात्रहरू रहेको स्रोतले बताएको छ । ‘केपी ओलीलाई ठेगान लगाउन विद्या भण्डारीको प्रयोग’ भन्ने डिजाइनमा लागेकाहरू भने पत्रकार सम्मेलनमा सहभागी हुने बताइएको छ ।