जनता टाइम्स

१० श्रावण २०८२, शनिबार १७:५८

 राष्ट्रियताको नाममा फेरि ठगिनु नपरोस् : झलनाथ खनाल 


काठमाडौं, साउन १० । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–भारतबीच हुन लागेको भनिएको सुपुर्दगी सन्धि, कोशी उच्च बाँधको सम्भावित सम्झौता र नागरिकता विधेयकका विषयमा गम्भीर चेतावनी दिनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पुष्पलाल शतवार्षिकी कार्यक्रममा बोल्दै खनालले साे विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनु भएकाे हाे ।  ‘यी तीन विषयमा सतर्क हुन जरुरी छ, नत्र फेरि राष्ट्रियताको नाममा हामी ठगिनेछौ’, उहाँले भन्नुभयाे ।

प्रचण्ड कार्यक्रमबाट उठेर हिँडेपछि मन्तव्य दिनुभएका खनालले नेपाल–भारतबीच हुन लागेको सुपुर्दगी सन्धिबारे चिन्ता व्यक्त गर्नुभयो । ‘नेपाल र भारतबीच सुपुर्दगी सन्धि हुँदैछ भन्ने सुनिएको छ । त्यो सन्धि भारत र चीनसँग सन्तुलनमा गरिएन भने हाम्रो राष्ट्रियतामाथि अर्को हमला हुनेछ,’ खनालले भन्नुभयो ।

कोशी उच्च बाँध सम्झौताबारे उहाँले राणा कालदेखि अहिलेसम्म नेपाल भारतसँग गरिएको जलस्रोतसम्बन्धी सम्झौतामा ठगिएको इतिहास स्मरण गराउनुभयो । ‘राणाकालमा भएको शारदा सम्झौता होस् वा गण्डक, कोशी र टनकपुरजस्ता सम्झौता-सबैमा हामी हेपियौँ। अहिले फेरि कोशीमा उच्च बाँध बनाउने सहमति हुँदैछ भन्ने सुन्नमा आएको छ, यो अत्यन्तै संवेदनशील विषय हो, सम्पूर्ण नेपाली सचेत हुनु जरुरी छ’, उहाँले भन्नुभयो ।

तेस्रो बुँदामा उहाँले नागरिकता विधेयकलाई लिएर चिन्ता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब बाबुको नाम नचाहिने, आमाको नाम मात्रै भए पुग्ने भनिएको छ, यस्तो कानून बनाएर उत्तरतर्फबाट आएका ४० हजारलाई नागरिकता दिने तयारी भइरहेको छ भन्ने सुनिएको छ ।’

यद्यपि उहाँले ‘उत्तरतर्फबाट आएका’ भन्नाले को को हुन् भनेर स्पष्ट खुलासा गर्नुभएन ।

खनालको भनाइमा तीनवटै विषय नेपालको सार्वभौमिकता, राष्ट्रिय हित र राष्ट्रियतासँग गाँसिएका विषय हुन् ।  यिनमा ‘राजनीतिक सम्झौता होइन, राष्ट्रिय दृष्टिकोण’ आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।

कार्यक्रमको सुरुमा उहाँले नेकपा संस्थापक महासचिव पुष्पलाललाई नेपालको श्रमिक वर्गको पहिलो प्रशिक्षक तथा राजनीतिक दृष्टिले दूरदर्शी नेता भनेर सम्मान गर्नुभयो । ‘पुष्पलालले एउटै कम्युनिस्ट पार्टी आवश्यक छ भनेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो,’ खनालले भन्नुभयो, ‘तर अहिले हेर्दा २४/२५ वटा कम्युनिस्ट पार्टी छन्ए, कताका लागि सिद्धान्त र नीतिमा स्थिरता जरुरी छ ।’

उहाँले पार्टीहरू फुट्नुको मूल कारण नै राजनीतिक विचलन, अवसरवाद र विचारहीन अभ्यास भएको टिप्पणी गर्नुभयो । सिद्धान्तको मार्ग त्यागेर दायाँबायाँ हिँड्दा कम्युनिष्ट आन्दोलन कमजोर भएकाे उहाँले बताउनुभयाे ।