भरतपुर , ११ साउन । पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले सूचना जारी गरी माग बढेको भन्दै ६ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो।
चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने छ। अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो। उनका अनुसार १३२/ ३३ केभी सब स्टेसनबाट आउने ३३ केभी डग कण्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड ४५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भएकाले आइतबार विद्युत् कटौती गर्न लागेको उहाँले बताउनुभयो । एक हप्ताभित्र विद्युत् लोड व्यवस्थापनमा आएको समस्या समाधन गर्ने पनि उहाँले जानकारी दिनुभयो । वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। विद्युत् माग बढेर ३३ केभी डग कन्डक्टर तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिनुभयो। दीर्घकालीन समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेसनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो । तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ बजे र दिउँसो ३ देखि ६ बजेसम्म, मेघौली विजयनगर शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र साँझ ६ देखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। यस्तै जगतपुर-रामपुर फिडरहरूमा मध्याह्न १२ देखि ३ बजेसम्म र बेलुका ९ देखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्