काठमाडौं, साउन १२ । सिन्धुलीको गोलञ्जाेर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित अवस्थामा भेटिएका छन्।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, उनीहरू सोमबार साँझ पोखरा–३० गगनगौँडाका दुई स्थानमा फेला परेका हुन्। कास्कीकाे पोखरा महानगरपालिका वडा नं. ३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना समेत गरी सबै १६ जना फेला परेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरू शनिबार नै पोखरा पुगेको प्रहरीले जनाएको छ। यता, परिवारकी माइली छोरी सुजता हायु सोमबार सम्पर्कमा आएकी थिइन्। सोही सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
१८ जनाको संयुक्त परिवारमध्ये दुई जना यसअघि नै काठमाडौंमा रहेको पुष्टि भइसकेको छ।
उक्त परिवार केही दिन अघि कुनै जानकारी नदिई गाउँबाट हराएपछि प्रहरी र स्थानीयले सोमबार थाहा पाएर बिहानदेखि खोजी सुरु गरेका थिए। उनीहरूले केही दिनअघि मात्र सरकारले उपलब्ध गराएको भत्ता बुझेका थिए । त्यसपछि उनीहरू अचानक सम्पर्कविहीन भएका थिए । उनीहरूले गाउँ छाड्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्