काठमाडौं, साउन १३ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता मतदान प्रक्रियाबाट छनोट गरिने भएको छ ।
त्यसको लागि आज बिहान १० बजे संसदीय दलको बैठक बोलाइएको छ । सोमबार बेलुका अबेरसम्म अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधि राजन केसीले सांसदहरूबिच सहमति जुटाउने प्रयास गर्नुभएको थियो । तर सहमति नजुटेपछि आज बस्ने बैठकले मतदान पक्रियाबाट भएन पनि निर्णय गर्ने बताइएको छ । संसदीय दलको नेता चयनको औपचारिक प्रक्रिया थालनी हुने गरी आज बैठक बस्न लागेको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसदहरूले आफ्नै मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्तावपछि संसदीय दलको नेता टुङ्गो लगाउन सोमबार दिनभर अनौपचारिक छलफल भएको थियो । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध २१ जना कांग्रेस सांसदले शुक्रबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो । ती सांसदहरूले लामालाई हटाएर पार्टी प्रदेश सभापति समेत रहनुभएका इन्द्र बानियालाई संसदीय दलको नेता बनाउने तयारी गर्नुभएको छ ।
प्रदेश संसदीय दलको विवाद मिलाउन केन्द्रीय समितिबाट राजन केसीलाई केन्द्रीय प्रतिनिधि बनाइ पठाइएको छ ।सांसदहरूबिच अनौपचारिक छलफल भइरहने र सकेसम्म अझै सहमतिको प्रयास गरिने नभए प्रक्रियामा गएर टुङ्ग्याउने कांग्रेस नेताहरूले बताउनुभएको छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन् ।













प्रतिक्रिया दिनुहोस्