जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार १९:४२

सुनकोशी–मरिण डाइभर्सनको काम यही गतिमा भयो भने २५ वर्षमा पनि सकिँदैन : प्रधानमन्त्री ओली


काठमाडौं, १५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिण डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताउनुभयो ।

तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दासमेत नसकेको स्थिति रहेको बताउनुभयो। उहाँले अहिले जलवायु परिवर्तनका कारण अनौठो समस्या आइरहेको बताउनुभयो । अन्नको भण्डार तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशतभन्दा बढी रोपाईं हुन नसकेको उहाँले बताउनुभयो। देशभरमा अहिलेसम्म २५ लाख हेक्टर सिँचाइयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिँचाइ पुर्‍याएको बताउनुभयो ।

सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी ५ लाख हेक्टरमा मात्रै सिँचाईको सुविधा रहेको उहाँले बताउनुभयो। सबै महिनामा सिँचाई पुर्‍याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अरु ४० प्रतिशत मेहनत सिजनल सिँचाईका लागि पनि गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो।