जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार ११:०९

कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरु उपभोग गरौँ : प्रधानमन्त्री ओली


काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको अवसरमा कोदोलाई नेपालको परम्परागत बाली मात्र नभई पोषणीय दृष्टिले समेत महत्त्वपूर्ण खाद्य बालीको रूपमा प्रवर्द्धन गर्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भन्नुभएको छ, ‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ ।’

उहाँका अनुसार कोदोमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सहयोग गर्छ । त्यस्तै, कोदोमा पाइने फाइबरले हृदय स्वास्थ्य सुधार गर्न मद्दत गर्ने जनाउँदै प्रधानमन्त्रीले स्वास्थ्य र आहार सन्तुलनका लागि कोदोलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ,’ सन्देशमा उल्लेख छ ।

कोदो उत्पादनमा आत्मनिर्भरता बढाउनुपर्ने र ग्रामीण क्षेत्रमा यसको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ।’

सरकारले औपचारिक रूपमा सुरु गरेको ‘राष्ट्रिय कोदो दिवस’ को अवसरमा खाद्य सुरक्षासँग जोडिएका स्थानीय बालीहरूको प्रवर्द्धन, संरक्षण र उपभोगको सन्देश दिने उद्देश्य लिइएको बताइएको छ । ग्रामीण पहाडी भेगमा कोदो एक समय मुख्य खाद्य बालीको रूपमा रहेको थियो । अहिले पनि धान नपुग्ने क्षेत्रमा कोदोको खेती निकै प्रचलित छ ।

कृषि विज्ञहरूका अनुसार कोदो जलवायु अनुकूल, कम लगानीमा उत्पादन हुने र पोषणतत्त्वले भरिपूर्ण खाद्यबाली हो, जसलाई सहरी क्षेत्रमा समेत प्रवर्द्धन गर्न सके कृषिको दिगो रूपान्तरणमा सहयोग पुग्नेछ ।