जनता टाइम्स

१७ श्रावण २०८२, शनिबार ०८:२४

एमाले विभाजन गलत भनेकै भोलिपल्ट ओलीसँग झलनाथको प्रेमिल हस्तमिलान


काठमाडौं, १७ साउन ।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच भेट भएको छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा होटल याक एण्ड यतीमा भेटका क्रममा कम्युनिष्ट आन्दोलनका दुई सहयात्रीहरूले हात मिलाएको तस्वीर प्रधानमन्त्री सचिवालयले सार्वजनिक गरेको छ ।

उक्त समारोमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलगायतका विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति थियो । प्रधानमन्त्रीले अघिल्लो लहरमा रहेका सबै नेताहरूसँग हात मिलाउँदै जाँदा झलनाथ खनालसँग पनि हात मिलाउनुभएको हो ।

शुक्रबार मात्रै खनालले दिएको एउटा टेलिभिजन अन्तर्वार्तामा खनालले एमालेबाट विद्रोह गरेर नेकपा एस बनाउनु गल्ती भएको बताउनुभएको थियो । उहाँले एमालेबाट अलग्गिएर अर्को दल बनाएको कुराको पुष्टि गर्न नसकिएको समेत बताउनुभएको थियो ।

यो भनाइसँगै अध्यक्ष माधवकुमार नेपालसँग उहाँको दूरी झनै बढेको छ । नेपालले एकलौटी ढंगले पार्टी चलाएको आरोप खनालले लगाउनु भएकाे छ।

नेपालले शनिबार विराटनगर पुगेर खनाललाई जवाफ दिँदै भन्नुभएको थियो , ‘पार्टीबाट खुरुक्क राजीनामा दिएर गए हुन्छ ।’ यता खनालले पनि नेपालको जवाफ दिइसक्नुभएको छ। उहाँले माधव नेपाल तानाशाह बनेको टिप्पणी गर्नुभएको छ। याक एण्ड यतीको कार्यक्रममा अन्य पूर्वप्रधानमन्त्रीहर देखिए पनि माधव नेपाल भने देखा पर्नुभएन ।