जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार २१:४९

अपरिचित लिङ्कमा क्लिक नगर्न र एप डाउनलोड वा इन्स्टल नगर्न  सिआइबीकाे अनुराेध 


काठमाडौं, साउन २८ । पछिल्ला दिनमा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत शेयर बजारसम्बन्धी आकर्षक दाबी गर्दै भ्रामक सूचना प्रवाह भइरहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ।

ब्यूरोले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘नेप्से एआइ’ नामक एप प्रयोग नगर्न, साथै अपरिचित लिङ्क वा एप डाउनलोड नगर्न आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘नेप्से एआइ एप डाउनलोड गर्न लगाई एआइले शेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने जस्ता भ्रामक जानकारी दिइने गरेको छ। तर उक्त एप इन्स्टल गरेपछि प्रयोगकर्ताको डिभाइसमा रिमोट सेसन खोली बैंक खातामा रहेको सम्पूर्ण रकम क्षणभरमै अन्यत्र सार्ने, डिभाइसको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गर्ने गतिविधि भइरहेको भन्ने उजुरीहरू प्राप्त भएका छन्।’

सिआइबीका अनुसार यस्ता घटनामा धेरै व्यक्ति ठगीका सिकार भइरहेका छन्। हालै, ‘जोन डोइ’ (सांकेतिक नाम) नामक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गर्दा उनको खातामा रहेको रु. २८ लाख ६१ हजार रकम केही मिनेटमै अन्य खातामा सारिएको उजुरी दर्ता भएको छ।

ब्यूरोले यस्ता प्रलोभनमा नपरी कुनै पनि अपरिचित लिङ्कमा क्लिक नगर्न, एप डाउनलोड वा इन्स्टल नगर्न, र शंकास्पद क्रियाकलाप देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।