जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार ०९:००

कोशीका जिल्लाबाट विधानमा सुझाव सङ्कलन गर्न सचिव भण्डारीको संयोजकत्वमा १० सदस्यीय कार्यदल


विराटनगर, साउन २९ । नेकपा एमाले कोशी प्रदेशले विधान महाधिवेशनमा समावेश गर्नुपर्ने विषयमा सुझाव संकलनका लागि सचिव राजकुमार भण्डारीको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेकाे छ ।

धनकुटाको हिलेमा  बसेको प्रदेश कमिटीको बैठकले मातहतका कमिटीबाट सुझाव सङ्कलन गरी केन्द्रमा पठाउने उद्देश्यसहित कार्यदल बनाउने निर्णय गर्नुभएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गीरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा), खड्ग राई (संखुवासभा), ईश्वरमणी राउत (उदयपुर), सत्यनारायण चौधरी (मोरङ), सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) सदस्य रहनुहुन्छ । भदौ ३ गतेदेखि प्रदेशका सबै १४ जिल्लामा जिल्ला कमिटी बैठक आयोजना गर्ने तयारी भएको छ । एक साताभित्र सम्पन्न हुने ती बैठकहरूमा विधान संशोधनका विषयमा व्यापक बहस हुने र बैठकमा प्राप्त सुझावलाई प्रदेश कमिटीमार्फत केन्द्रीय कार्यालयमा पठाइने अध्यक्ष खतिवडाले बताउनुभयो ।

यस क्रममा साउन ६ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको ‘अन्तरपार्टी निर्देशन १२’ सँग नबाझिने गरी छलफल हुने जानकारी पनि दिनुभयो ।

बैठकमा  ४२ जना  धारणा राखेका उहाँले बताउनुभयाे । केही नेताहरुले पार्टी केन्द्रको निर्णय र ‘अपानि १२’ को बर्खिलापमा छलफल गर्न खोजे पछि केहीलाई राेक्नु परेकाे उहाँले बताउनुभयाे ।