जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार १०:०८

आयुर्वेदिक उपचारप्रति बढ्दो विश्वास, मन्थलीमा सेवा लिनेको सङ्ख्या बढ्दै


रामेछाप, साउन २९ – आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गएपछि मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढिरहेको छ ।

गत आर्थिक वर्षमा झन्डै ३१ हजार बिरामीले उपचार लिनु भएको चिकित्सालयमा यस वर्ष यो सङ्ख्या अझ बढ्ने प्रारम्भिक तथ्याङ्कले देखाएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक उपचारका लागि आउने बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । ‘सेवाको प्रचार–प्रसार र नागरिकको विश्वासका कारण उपचार गराउन आउनेको सङ्ख्या बढ्दो छ,’ उहाँले बताउनुभयो ।

एलोपेथिक उपचारको तुलनामा आयुर्वेदिक उपचारको साइड इफेक्ट कम हुने भएकाले पनि बिरामीहरू यसतर्फ आकर्षित भएका छन्। ‘नसर्ने र पुराना रोगको उपचार गराउन आउने बिरामीको सङ्ख्या तुलनात्मक रूपमा बढी छ,’ उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल चिकित्सालयले २३ प्रकारका निःशुल्क आयुर्वेदिक औषधि र सशुल्क औषधिहरू वितरण गर्दै आएको छ । साथै, प्रत्येक सोमबार रगत र पिसाब परीक्षणसहितका निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्दै आएको छ । यो सेवा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला र कलेजो परीक्षणका लागि सञ्चालन हुँदै आएको हो ।

सोमबार ल्याब परीक्षणमा आउनेको सङ्ख्या चिकित्सालयले तोकेको भन्दा पनि बढी रहेको ल्याब असिस्टेन्ट सुमन चापागाईँले बताउनुभयो । ‘हामीले १५ जनाको परीक्षण गर्ने भनेका छौँ तर जति आउनु हुन्छ सबैको परीक्षण गरिदिने गरेका छौँ’, उहाँले भन्नुभयो ।

चिकित्सालयमा ओपिडीसँगै पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र, फिजियोथेरापी, अकुपञ्चर, प्याथोलोजी ल्याब, परामर्श तथा आयुर्वेदिक औषधि वितरणजस्ता सेवा सञ्चालनमा छन् । लामो समयदेखि निको नभएका रोग, हाड–जोर्नी, नसा, ग्यास्ट्रिक, पेटका विभिन्न रोग, लामो समय टाउको दुखाइ, सुक्खा खोकी, पायल्स र युरिक एसिडसम्बन्धी समस्या भएका बिरामीहरू यहाँ उपचार गराउन आउने गरेका चिकित्सालयकी डा. सविता भण्डारीले बताउनुभयो ।

रामेछाप नगरपालिका–८ का लेखबहादुर बिकले नसा सम्बन्धी रोगको उपचारका लागि भारतसम्म पुग्नुभए पनि यहाँको अकुपञ्चर र थेरापी सेवापछि निक्कै सहज भएको अनुभव सुनाउनुभयो । मन्थलीका कृष्ण रिजालले पनि ढाडको दुखाइमा सुधार भएको बताउनुभयो । ह्विलचियरमा आएका बिरामीहरूलाई निको बनाएर पठाएको फिजियोथेरापिष्ट रोशन मेहताले जानकारी दिनुभयो ।

अकुपञ्चर सहायक सुष्मिता कार्कीका अनुसार दुखाइ तथा नसा सम्बन्धी विभिन्न समस्या लिएर आउने बिरामीहरू सेवा लिएपछि सन्तुष्ट भएर फर्किने गरेका छन् । ‘उहाँहरूले धेरै राम्रो भयो भनेर प्रतिक्रिया दिनुहुन्छ,’ उहाँले बताउनुभयो ।

पूर्वकर्म तथा पञ्चकर्म सेवाबारे धेरैलाई जानकारी नहुँदा, सेवा दिएपछि ‘यस्तो सेवा पनि पाइने रहेछ’ भनेर बिरामीहरू खुसी हुने गरेका अभ्यङ्गकर्ता शिव खड्का र कृष्णमाया माझीले बताउनुभयो ।

यसअघि बसपार्क नजिकको साँघुरो संरचनाबाट सञ्चालन हुँदै आएको चिकित्सालयले साउनदेखि आकाशे स्थित मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गरेको छ । मन्थली नगरपालिका र मन्थली नगर अस्पतालले उपलब्ध गराएको उक्त संरचनाबाट सेवा सुरु गरेपछि सेवा प्रवाहमा सहजता आएको चिकित्सालयले जनाएको छ ।

चिकित्सालयलाई २४ घण्टे इनडोर सेवा दिने अस्पतालका रूपमा विकास गर्ने तयारी भइरहेको छ । यसै आर्थिक वर्षभित्र उक्त सेवा सञ्चालनमा ल्याउने योजना रहेको चिकित्सालयले जानकारी दिएको छ ।

हाल रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसहित ६ स्थानमा आयुर्वेद सेवा उपलब्ध छ । मन्थली नगरपालिका–८ चिसापानीमा आयुर्वेद औषधालय, रामेछाप नगरपालिका–७ सुकाजेर, सुनापति गाउँपालिका–४ बेथान, गोकुलगंगा गाउँपालिका–३ रस्नालु र खाँडादेवी गाउँपालिका–८ भदौरेमा नागरिक आरोग्य सेवा केन्द्रहरू सञ्चालनमा छन् ।

दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा भने अहिलेसम्म आयुर्वेद सेवा पुगेको छैन । तर संघीय सरकारले यस आर्थिक वर्षदेखि सबै स्थानीय तहमा आयुर्वेदिक उपचारको एक युनिट स्थापना गर्ने गरी बजेट विनियोजन गरेकाले बाँकी गाउँपालिकामा पनि यस वर्षदेखि सेवा विस्तार हुने भएको छ ।