काठमाडाैं, साउन ३०। वर्षाकाे कारण बाढी र पहिरोको जोखिम बढेपछि बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनमा रातिको समयमा सञ्चालन रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार हाल देशभर मनसुन सक्रिय रहेकाले विपद्को सम्भावना उच्च रहेको छ। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै २०८२ भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरिएको हो।
यो निर्णय जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको साउन ३० गते बसेको बैठकले गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी सूचनामा सो अवधिमा यात्रा नगरी वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरिएको छ।
सूचनामा भनिएको छ – ‘बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारीसाधनलाई भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निषेध गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको हो।’














प्रतिक्रिया दिनुहोस्