जनता टाइम्स

३१ श्रावण २०८२, शनिबार ०७:१४

आज दिउँसो र रातिं कहाँ–कहाँ पर्छ पानी ?


काठमाडौं, ३१ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (साउन ३१, शनिबार) दिउँसो र रातिको सम्भावित मौसम र वर्षाबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिउँसो : सुदूरपश्चिम प्रदेशलगायत पहाड भेगमा साधारणतया बदली ९बाक्लो बादल० रही देशका बाँकी स्थानमा आंशिक बदली ९पातलो बादल० रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति : कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाड क्षेत्रमा साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसम महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर छ।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।