जनता टाइम्स

३१ श्रावण २०८२, शनिबार १२:३०

रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवी मन्दिर जाने सडक पक्की बन्ने 


रामेछाप, साउन ३१ गते । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवी मन्दिर जाने सडक पक्की बन्ने भएको छ ।

मन्दिर जाने सडकलाई पक्की बनाउन डिटेल सर्भेको काम सुरु भएको छ । वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्षमा ५५ लाख रुपैँया बजेट विनियोजन भई बहुवर्षीय आयोजना अन्तर्गत मन्दिर जाने सडक निर्माण हुन लागेको हो ।

एतिहासिक शक्तिपीठ खाँडादेवी मन्दिर जाने सडक अहिले कच्ची र अप्ठेरो छ । मन्थली–गोगनपानी–गाल्पाको मूल सडकबाट मन्दिरसम्म पुग्न करिब ३.५ किलोमिटर सडक कच्ची र उकालो भएको कारण मन्दिरमा सवारीसाधन लिएर जानेहरूले जोखिम मोलेर जाने गर्दछन् ।

मूल सडकबाट मन्दिरसम्म जाने ३ वटा सडक छन् । तर तिनवटै सडक कच्ची हुँदा मन्दिरमा जोखिमपूर्ण सडक पार गर्नुपर्दछ । मूल सडकबाट मन्दिर जान रायगाउँ हुँदै जाने एउटा सडक छ । त्यस्तै खाँडादेवी मन्दिरको मुनिबाट अर्को सडक छ भने चोप्राङ डाँडाबाट जाने अर्को सडक छ ।

प्रदेश सरकारको बजेटबाट अहिले रायगाउँहुँदै मन्दिरसम्म पुग्ने र मन्दिरबाट चोप्राङडाँडासम्मको सडकको डिटेल सर्वेको काम सुरु भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले बताउनुभयो । जुन सडक ७.५ किलोमिटरको हुने छ । ‘यो काम भयो भने दुईवटा सडक बन्छन्, अर्को बिचबाट जाने सडक पनि बन्यो भने मन्दिरसम्म पुग्न सहज हुन्छ’, उहाँले भन्नुभयो ।

मन्दिरमा आउने भक्तजनलाई बाटोको निक्कै कठिनाइ भएको उहाँले बताउनुभयो । वर्षाको बेलामा मन्दिरसम्म जाने सडक बारम्बार अवरुद्ध हुने त्यसलाई खाँडादेवी विकास कोषले नै सफा गर्ने गरेको उहाँले बताउनुभयो । बाटो राम्रो छैन भन्ने सन्देश जाँदा वर्षाको बेलमा मन्दिरमा आउनेको सङ्ख्या अति न्यून भएको उहाँले जानकारी दिनुभयो ।

खाँडादेवी गाउँपालिकाको वडा नं ७ र वडा नं २ को सिमानामा पर्ने खाँडादेवी मन्दिरलाई निक्कै पुरानो ऐतिहासिक धार्मिक शक्तिपीठ मानिन्छ । मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहनाले पनि यसको ऐतिहासिकतालाई पुष्टि गर्दछ ।

असहजताका बिचमा पनि खाँडादेवी विकास कोषले मन्दिरसम्म जाने सडक नियमित मर्मत गरिरहेको छ । मन्दिरसम्म जाने सडक कुनै पनि दिन नरोकिएको तामाङले भन्नुभयो । ‘केही घण्टा रोकिन्छ, तर कोषकै तर्फबाट मान्छे लगाएर खोल्ने गरेका छौँ’, उहाँले भन्नुभयो  ।

साउन महिनामा बली चढाउने भक्तजनहरू कम आउने भएको कारण पनि मन्दिरमा भक्तजनहरूको कम उपस्थिति भएको हो । भदौ लाग्ने बित्तिकै पञ्चवली सुरु हुने मन्दिरमा दशैँको बेलामा ठुलो भिड लाग्ने गर्दछ । मन्दिरमा आउने दर्शनार्थीको व्यवस्थापन, पूजा र बली व्यवस्थापन लगायतका काम खाँडादेवी विकास कोषले गर्दै आएको छ ।